जिल्ला प्रहरी कार्यालय लमजुङको  नवनिर्मित भवन उद्घाटन

0
Shares

लमजुङ ।

जिल्ला प्रहरी कार्यालय लमजुङको नवनिर्मित भवनको औपचारिक उद्घाटन भएको छ । भवनको एक कार्यक्रमकाबीच नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी लोहनीले नेपाल प्रहरीको काम कारबाहीलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । देशमा भएको राजनीतिक स्थायित्व र सरकारले लिएको लक्ष्य प्राप्तिका लागि प्रहरी प्रतिबद्ध रहेको भन्दै एआईजी लोहनीले प्रहरीको अन्तिम लक्ष्य भनेको अपराध नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्नु रहेको उल्लेख गर्नुभयो ।

नेपाल प्रहरीको काम कारबाहीलाई प्रभावकारी बनाउन संरचना पनि अति आवश्यक रहेको एआईजी लोहनीको भनाई थियो । व्यवस्थित संरचना भएमा प्रहरीको स्वास्थ्य सुधारसँगै मनोबल पनि उच्च हुने हुँदा आवश्यकता र समय अनुरुपका संरचना निर्माण हुनुपर्ने एआईजी लोहनीको भनाई थियो ।

नेपाल सरकारबाट विनियोजित चार करोड २३ लाख रुपैयाँ बजेटमा नयाँ संरचना निर्माण भएको हो । नवनिर्मित भवनमा प्रहरी कार्यालय प्रमुख, अधिकृत, र जवानहरुका लागि आवास सहित भान्छा घर, हिरासत कक्ष लगायतको संरचना निर्माण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी प्रमुख प्रकाश श्रिमलका अनुसार जिल्ला प्रमुखका लागी एउटा आवास, अफिसरका लागि कम्तीमा दुई जना रहने आवास, एउटा हिरासत कक्ष, जुनियर प्रहरी अधिकृत र जवानहरुका लागि भान्छा घर, ब्यारेक शौचालय निर्माण भएको हो । आर्थिक वर्ष २०७६/७७ बाट निर्माण शुरु भएको भवन तीन वर्षमा सम्पन्न भएको हो । भवन निर्माणका लागि काभ्रेस्थित ब्राईट मल्टी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको थियो ।

करिव तिनसयको हाराहारीमा प्रहरी सँख्या रहेको लमजुङमा जीर्ण र पुरानो संरचना हुँदा जिल्ला भर नै निकै कठिनाइ हुँदै आएको थियो । जिल्लामा भौतिक पूर्वाधार नहुँदा प्रहरीलाई समस्या हुँदै आएको थियो । कार्यालय प्रायोजन र आवासका लागि भौतिक पूर्वाधार नहुँदा समस्या हुने गरेको प्रहरीले जनाएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी गण्डकी प्रदेश प्रमुख एवं प्रहरी नायव महानिरीक्षक बुद्धिराम गुरुङले नेपाल प्रहरीको काम कारबाहीलाई कानुनको परिधि भित्र रहेर इमानदारिता पूर्वक र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पुरा गर्न हरेक प्रहरी तयार हुनुपर्नेमा जोड दिनुभयो । प्रहरीको काम कारबाहीलाई प्रभावकारी बनाउन समुदायको पनि विशेष भूमिका रहने भन्दै डिआइजी गुरुङले सबैको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले मन्तव्य राख्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धि सुवेदीले गर्नुभएको थियो ।