परम्परागत पञ्चेबाजा संरक्षणमा राइनासबासी 

0
Shares

लमजुङ।

नेपाली मौलिक संस्कृतिको पञ्चेबाजा संरक्षणका लागि लमजुङको राइनास नगरपालिकामा पञ्चेबाजा प्रतियोगिता भएको छ । राइनास नगरपालिका ५ स्थित दलित मैत्री सामुदायिक भवनको दोस्रो वार्षिकोत्सवको अवसरमा भवन व्यवस्थापन समितिले पञ्चेबाजा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न वडाबाट सात वटा समूहको सहभागिता थियो ।

प्रतियोगितामा वडा नं.८ को सुरेश परियारको प्रथम भएको छ भने वडा नं. ८ तार्कुघाटको बलबहादुर परियारको समूह दोस्रो र वडा नं. ५ गोपाल परियारको समूह तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीयलाई क्रमशः १० हजार, आठ हजार, ६ हजार र  अन्य सहभागी टिमलाई तिन/तिन हजार पुरस्कार प्रदान गरिएको छ ।
कुनै शुभ कार्य हुँदैछ भन्ने संकेत गर्ने पञ्चेबाजा बिस्तारै लोप हुँदै गएको र त्यसको सट्टमा ठूला ठूला साउन्ड सिस्टमबाट गीत घन्काउने गरेको पाइएको दलित मैत्री सामुदायिक भवन व्यवस्थापन समिति सल्लाहकार पूर्णबहादुर नेपालीले बताउनुभयो ।

विशेष गरी दर्जी समुदायले बजाउने पञ्चेबाजा हिजोआज विवाह, व्रतबन्ध, पास्नी, लगायतका पर्वहरुमा सुनिन छाडेको उहाँको भनाई छ । पञ्चेबाजामा प्रयोग हुने दमाह, सनै, ट्याम्को, झ्याली र ढोलक बिस्तारै लोप हुँदै गएका छ ।

बिहे, व्रतबन्ध र अन्य चाडबाडमा ठूला ठूला क्यासेट, ब्याण्डबाजा बजाउने गर्छ तर   पञ्चेबाजालाई बेवास्ता गर्छन् । सोही कारण पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको अध्यक्ष नेपालीले बताउनु भयो ।

पञ्चेबाजा प्रयोगमा आउन छाडेपछि नयाँ पुस्ताहरुले बाजा बजाउनै छाडेको नेपालीले बताउनु भयो ।

कुनै बेला दर्जी समुदायको मुख्य पेसा नै पञ्चेबाजा बजाउनु थियो । विवाह, व्रतबन्ध, तथा विभिन्न चाडबाडमा पञ्चेबाजा बजाउने टोलीलाई भ्याइ नभ्याइ हुन्थ्यो । तर बिस्तारै त्यो संस्कार अहिले हराउँदै गएको छ ।