हाम्रो दिशाहीन गन्तव्य



दृश्य १. ‘विश्वकै सस्तो आँखाको लेन्स बनाएर लाखौं मानिसमा दृष्टि दिन सफल व्यक्तित्व डा. सन्दुक रुइतले १४ करोड राशिको पुरस्कारसहित सम्मानित भएर नेपाल आउँदा एयरपोर्ट सुनसान छ । उता बलात्कारीको सम्मानमा जेलको ढोकामा फूलमाला लिएर नचाहिँदो अबिर जात्रा छ । त्यस्तो देशका नागरिक हौं हामी, जहाँ कानुनी राजलाई खिल्ली उडाएर समाजवादतिरको यात्रामा लम्किने नाराहरू तय हुन्छन् !’

दृश्य २. ‘प्रिय सर ! नमस्कार । मलाई इक्जाममा पास गराउनुहोला । यदि मलाई पास गराउनुभएन भने मलाई हजुरको बाइक नम्बर थाहा छ । मेरो साथी टिप्पर चालक हो ।’

दृश्य ३. ‘विगतमा प्रज्ञा प्रतिष्ठानबाट दोहोरो सुविधा लिने महानुभावहरूको लिस्ट आएछ, जसमा आख्यानकार डा. ध्रुवचन्द्र गौतम, लोक संस्कृतिविद् डा. कवि तुलसी दिवस, प्रख्यात सडक नाटककार अशेष मल्ल, प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति प्रा.डा. गंगाप्रसाद उप्रेती र प्राध्यापक मञ्जु काँचुली । संयोगले सबै पूर्वप्राध्यापकहरू हुन्, जसले आफ्नो जीवनमा हजारौं विद्यार्थीलाई ज्ञानरश्मि बाँडेथे ।’

राजनीतिक विश्लेषक मुमाराम खनाल सटिक शैलीमा लेख्छन्– ‘पुष्पकमल दाहाल, केपी ओली र शेरबहादुर देउवा स्वयं धोका, षड्यन्त्र र झुटका पोका हुन् । उनीहरूले एक–अर्कालाई बाँड्ने भनेकै आफूसँग रहेका तिनै पोकाहरू मात्रै हुन् । हो, माथिका तीनै जनामध्ये समयले पालैपालो धोकाका पोका बाँड्ने पात्र भने बदलिरहन्छ, अरू केही हुँदैन ।’ वर्तमान राजनीतिक गजमौरोलाई यति मिहीन रूपले चित्रण गर्ने अर्को शब्दचित्र बजारमा भेटिँदैन । जसमा कुनै प्रकारका सप्रसङ्ग व्याख्याका जरुरत परून् ।

एमाले अध्यक्ष केपी ओली यतिखेर नेपाली राजनीतिका गेम चेन्जर हुन् । हिजो कांग्रेस र माओवादीले चुनावमा ‘कांग्रेस भनेको माओवादी र माओवादी भनेको कांग्रेस हो’ भन्नेसम्म भन्दै जुन हिसाबले राजनीतिक इथिक्स सेकेर जनतालाई गुमराहमा राखी भोट मागे ओलीले बालकोट बार्दलीमा घाम ताप्दाताप्दै शेरबहादुरहरूले नदिएका पदहरू प्रचण्डलाई भटाभटी दिँदै विनालगानी र विनारिक्स आफ्नो क्याम्पमा सजिलै ताने । त्यतिमात्र कहाँ हो र ? उनको पार्टी दोस्रो मत पाउने हुँदाहुँदै पहिलो पार्टीको मुखमा आएका कार्यकारी पदहरू भटाभट खोसेर कम्तीमा सभामुख पदचाहिँ पाँच वर्षका लागि अकाट्य बनाइछाडे । हो, नेपालमा यस्ताखाले काइते शक्ति भएका नेताहरू पार्टीलाई अझै केही वर्ष गुल्जार भैरहन्छन् ।

विचारको, आस्थाको र समाजवादतिरको राजनीति भन्ने कुरा त सब चुनावताका बोलिने हल्काफुल्का भाषणका गुल्छर्राहरू (कथा भरिएका सन्दर्भ) मात्रै हुन्, तैपनि विवश नागरिकहरूको बाध्यता छ कि यस्ता कुराहरू हुबहु पत्याइदिनुपर्छ । किनकि पार्टीहरूले जनताको मताधिकारसमेत चुनावमा पार्टी–पार्टी मिलेर हडप्ने गरेका छन् । यस्तो परिपाटी विकास भैरह्यो भने अबका केही चुनावहरूमा राजनीतिक पार्टीप्रतिको वर्तमान आस्था र विश्वासलाई धमिराले सक्नेछ ।

नेपाली राजनीतिलाई नजिकबाट चियाउनेहरू कोही आशावादी छैनन् । देश कता जाँदै छ भनेर माथिका तीन दृश्यहरूले कहेकै छन् । यसो भनेर नागरिकहरूमा अविश्वास, निराशा र कुण्ठाको सञ्चरण गर्न खोजिएको चाहिँ पक्कै होइन । घटनाहरूले देखाइसके, छिमेकी भारतले भनेकै भरमा दक्षिणबाट आयात गरिएका तरकारी र फलफूलहरूमा विषादी परीक्षण नगर्ने निर्णय मन्त्रिपरिषद्ले ग¥यो । यति भएपछि आफैँ बुझ्दा हुन्छ, प्रधानमन्त्री प्रचण्डले उनले आफूलाई पुस १० पछिका दुई महिनामा भएको असजिलोको फिल कस्तो रहेको रहेछ भन्ने अन्तर्यभित्र कस्ता दबाब रहेछन् भनेर बुझ्दा हुन्छ ।

चेसका गोटी रहेछन् नेपालका राजनीतिक दलहरू । आर्थिक समस्या र सङ्कट एकातिर, उनीहरू सम्पूर्ण अर्कोतिर लागेको देख्दा जो–कोही स्वाभिमानी नेपालीको दिल र दिमाग कटक्क काटिएर आउँछ । बाहिरी दुनियाँमा देखादेखी त ऊ रुन सक्दैन तर भित्रभित्रै भने कोक्किई–कोक्किई रोइरहन्छ । देशमा बसूँ बसिसक्नु छैन । छाडेर कहाँ जाऊँ ? अझ यो कुराले उमेर अधबैँसै र रिटायर्ड भैसकेका नागरिकहरूलाई धेर पिरोल्छ । भारतीय विदेश सचिव भनेका हाम्रो प्रशासनको सहसचिव स्तरको जागिरे हुन् । हाम्रो सहसचिव भारत गए भने कुनै रेस्पोन्स हुन्न तर उतापट्टिका चाहिँ आउँदा रेड कार्पेट भेट र सारा राजनीतिक पार्टीका आन्तरिक गृहकार्यसमेत तीन सय साठी डिग्रीमा फनक्कै घुम्छन् । उतातिरका जोसुकै आऊन्, आएपछि यहाँ हाम्रामा केही न केही राजनीतिक उथलपुथल गराएरै छाड्छन् ।

आकाश खस्यो भने मात्र एमालेका राष्ट्रपतीय उम्मेदवार सुवासचन्द्र नेम्वाङले जित्ने हुन्, नत्र आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलकै पल्ला भारी भएको टड्कारो देखिन्छ । यद्यपि दुवै पूर्वसभामुख रहिसकेका, खारिएका व्यक्तित्व हुन् । एमालेका उम्मेदवार नेम्वाङले त भन्न भ्याइसकेछन्, ‘आफू राष्ट्रपतिमा निर्वाचित भए नागरिक राष्ट्रपतिको भूमिका निर्वाह गर्ने, सवारी जाम नगर्ने र हवाई सुविधा लिएर औपचारिक कार्यक्रमहरूमा जाने ।’ यो भनेको चुनावपूर्व मतदाताका सेन्टिमेन्टलाई क्यास गर्ने मेलो हो ।

निर्वाचनबाट चुनिनुअघि प्रथम र दोस्रा राष्ट्रपतिहरूसमेत नागरिक स्तरबाट अहिलेको जस्तो आलोच्य कहाँ थिए र ? पदमा रहँदा बस्दा उनीहरूले शनैःशनैः आफैँले आफ्नो पदानुसार गरिमा बोक्न सकेनन् । कहिले राज्यबाट लिइने सेवा–सुविधाहरूमा गरेका किचकिच र कहिले अनावश्यकरुपले जनतालाई दिइएका सवारीजामका सास्तीले तिनीहरूलाई अनालोच्य नबनाइरहन सकेन । अहिले यतिखेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनलाई ऐन नबनाएरै सरकारले विशेष सुविधाहरू दिने भन्ने समाचारमा आइरहेछन् । एउटा प्रश्न यहाँनेर उठ्छ, ‘विदेशमा कहिलेकाहीँ समाचारमा सुनिएजस्ता राष्ट्रपतिहरू के हामीकहाँ हुन नसकेकै हुन् ? कि नचाहेका हुन् ?’ यी कुराहरूको खोजी अब हुनुपर्छ । यसले जनतामा ती संस्थाहरूको विश्वसनीयता अझ बढाउँछ ।

विदेशी व्यक्ति आएपछि उसले कान फुकेर राष्ट्रपतिको ललीपप जता फालिदियो उतै खोज्न लागे तर यता देश डुबिसक्यो । हिजो राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको र नेकपा एकीकृतका अध्यक्ष माधव नेपालको समेत नाम आयो तर ती दुवै नाममा नागरिक स्तरबाट अनेक तर्कहरूसहित विरोध भए । एकपटक कार्यकारी पदमा बसिसकेका व्यक्तिले फेरि सेरेमोनियल राष्ट्रपतिमा बस्दा राष्ट्रपति पदको गरिमा कसरी जोगिन्छ भन्नेहरूले गरेको तर्कले केही राहत दियो होला तर यस्ता झीनामसिना तर्कहरूभन्दा पनि हाम्रो देशको भूराजनीतिक सम्बन्ध छिमेकीहरूसँग धेरै भएकाले नेपाली नेताहरूलाई प्रत्यक्ष÷अप्रत्यक्ष दबाब आएको हुन सक्छ । त्यसैले बाबुराम र नेपालका नामका बीचबाट एक्कासी आठ दलीय गठबन्धनका कुराहरू फुत्त बाहिर आएर कांग्रेस नेता रामचन्द्र पौडेलका सवालमा ८ पार्टीहरू एक भए तर राष्ट्रपतिको निर्वाचन भएपछि सरकारले विश्वासको मत लिनुअघि र पछि जब गठबन्धनले मन्त्रिपरिषद्मा भागवण्डा लगाउँछन् अनि त्यस बेला पार्टीहरू भागवण्डा नमिलेर अर्कोपटक फेरि जुँगाको लडाइँ नहोला भन्न सकिन्न ।

एमालेले कार्यकर्ताहरूलाई अनेक सामयिक राजनीतिक मसलाहरू फ्याँकिसकेको छ । समृद्धि र विकास नचाहने प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको ढुलमुले राजनीतिक चरित्रका कारण पुस १० को सहमतिलाई लात मार्दै प्रचण्ड देउवा कित्तामा जोडिन पुगेका हुन् भन्न थालिसके । यो कुरा अहिले दशैभरि सञ्चालन भएको ‘मिसन ग्रासरुट’ संगठनात्मक कार्यक्रम दौरानमा एमालेका नेताहरूले भटाभट भन्न थालिसके । यसरी अब एमाले पाँचै वर्ष प्रतिपक्षमा बस्यो भने उसले राजनीतिक संगठन अझ राम्ररी गर्छ र आउँदो पाँच वर्षपछिको चुनावमा बहुमतको सरकार गठन गरी कांग्रेस र माओवादीलाई नराम्रो चक्मा दिन बेर छैन । अहिले बुझ्ने र राजनीतिक घटनाहरूको मिहीन विश्लेषण गर्ने राजनीतिक विश्लेषकहरू यसरी प्रस्तुत हुन थालिसके, जसमा दम देखिन्छ ।

अहिले नेपालको राजनीतिक घटनाहरू कसैले माने या नमाने पनि अझै एमाले अध्यक्ष केपी ओलीको पेरिफेरीमा घुमिरहेको छ । त्यसै उनलाई नेपाली राजनीतिका ‘गेम चेन्जर’ र ‘वान् मेन आर्मी’ जस्ता विशेषणले पुकारिएको होइन । पञ्चायतदेखि राजनीति गरेर पाको भैसकेकी ९४ वर्षीया राजनीतिज्ञ सुश्री भद्राकुमारी घले टेलिभिजन वार्तामा ओलीका विशेषता र कुशाग्र बुद्धिलाई ठूलो शक्ति मान्दै फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कसैले नसोचेको परिणाम आउने कुरा सुनाउँछिन् । घलेले भनेझैँ भयो भने नेपाली राजनीतिमा अझै केही वर्ष ‘ओली मिथक’ बनेर युवा पुस्ताका लागि नरहिरहलान् भन्न सकिन्न । आखिर राजनीतिलाई असम्भवहरूका बीच सम्भव बनाएर खेल्ने खेलका रूपमा लिइन्छ ।

ओलीको ‘गिभ एन्ड टेक’को राजनीतिक शैली वर्तमान समयमा क्रियाशील राजनीतिज्ञहरू कांग्रेस सभापति देउवा र माओवादीका अध्यक्ष प्रचण्डको भन्दा धेरै गुना शक्तिशाली छ । उनी कुनै–कुनै घटनामा त ‘बुम¥याङ’ (त्यो हतियार जुन हतियारले शत्रु पक्षलाई प्रहार गरी सफलतापूर्वक फेरि आफ्नै हातमा सकुशल आएर बस्छ) शैली प्रयोग गर्छन् । हिजो नेकपा गठन गरेर दुई तिहाइको नजिक पुगेकै हुन् । गएको मङ्सिर ४ को संघीय र प्रादेशिक चुनावमा उनले ‘धर्मेका घिउमा उदयनारायणको स्वस्ती’ शैली अपनाएरै आफ्नो पार्टीको बेडालाई पार लगाएरै छाडे । वास्तवमा हाम्रोजस्तो गरिब देशको राजनीतिमा चासो राख्ने आम भोटर, सामान्य कार्यकर्ता र नेताहरूलाई हेर्ने हो भने नेतृत्वले यस्तै गरेर बेला–बेलामा चमत्कार गर्नुपर्छ भन्ने मानसिकता राख्ने गर्दछन् । यो कुरा नेपालको राजनीतिलाई विगत केही दशकदेखि हेर्दा प्रस्ट हुन्छ ।

जसरी हिजो नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन नहुन्जेलसम्म उनकै इर्दगिर्दमा नेपालका राष्ट्रिय राजनीतिक घटनाहरू घुमिरहन्थे र तिनीहरूलाई गिरिजा आफू अनुकूल प्रभावमा पारिरहन्थे, आज ठीक त्यसै गरी नेकपाका अध्यक्ष ओलीको वरिपरि मात्रै राजनीतिक घटना घुमिरहनु उनको विशेष खुबी पनि हो । उनले संघीय संसद्को सभामुख पद बठ्याइँपूर्वक लिएर प्रचण्डले आउने पाँचै वर्ष सरकार चलाए पनि संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई अल्पमतमा पारिदिइसके । वर्तमान प्रधानमन्त्री वा भविष्यका गठबन्धनका प्रधानमन्त्रीबाहेक सबै सदस्यहरू एमालकै पकडमा रहने चित्र देखिँदो छ । मज्जाको कुरो यो त पाका ओलीको राजनीतिक दूरदर्शिता हो ।

‘राजनीतिमा ओली एकैपटक तीन प्लान, ए, बी र सी सँग खेल्छन् र निदाउँदैनन् । अरू प्राणीहरू प्लान ए बनाएर सुतेपछि अबेरसम्म ब्युँझिँदैनन् । ढुक्कले निदाउँछन् । प्रायः कांग्रेस ब्युँझिएर उज्यालो हुँदा बासेको भाले कराईमा फ्राइ भइसकेको हुन्छ ।’ विश्लेषक सञ्जीव कार्कीको व्यङ्ग्य छ ।

पाका राजनीतिज्ञ भद्राकुमारीले भनेझैँ अचम्म भयो भने मात्र नत्र ‘ओलीकै म्यानका तरबार’ नेम्वाङ राष्ट्रपतिमा चुनिन्छन् ! नेपालको राजनीति हो, यहाँ जे पनि हुन्छ भन्नेहरूको कुनै कमी छैन ।

प्रतिक्रिया दिनुहोस्