श्रमको सम्मान गर्नुपर्नेमा जोड

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने भन्दै पौडेलले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रम गरेर बाँच्न सबैलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।

पौडेलले भन्नुभयो– ‘हामीले मलुकलाई अगाडि बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउनु जरुरी छ । आज हाम्रा जम्मै गाउँघर, पाखाहरू बाँझो छन् । हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ । अरबौँ, खरबौँको आयात गरेका छौँ ।’

विदेशी आयातबाट खानेकुरा धान्ने कसरी हो भन्ने राज्यले सोच्नुपर्ने पौडेलको भनाइ छ ।  ‘श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ’, उहाँले थप्नुभयो– ‘यही नै राष्ट्रियता हो । यही नै देशभक्ति हो । यो देशभक्तिलाई तपार्इंहरूले पूर्ण रूपले अवलम्बन गर्नुहुनेछ ।’  श्रम गर्ने जनतालाई सम्मान गर्ने, प्रेरणा दिने, श्रम गर्नेलाई प्रेरित गर्ने काममा सबै लाग्न उहाँले आग्रह गर्नुभयो । ‘समाजवाद उन्मुख राज्य भनेर हामीले भनेका छौँ’, यसअघि उहाँले  भन्नुभयो–‘त्यो साकार हुनुपर्छ । शब्दमा मात्रै अब धेरै खेलेर काम छैन । यो देशमा शब्दहरू धेरै प्रयोग भए । तर ती शब्दको अर्थ निस्कनुपर्यो । शब्दको अर्थ साकार हुनुपर्यो ।’ श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उहाँले शरीरलाई स्वस्थ बनाइराख्नका लागि पनि श्रम आवश्यक रहेको बताउनुभयो ।