दुईतिहाई सहितका मुख्यमन्त्री

0
Shares

धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ। आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेपछि उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो।
सभामुख भीमबहादुर भण्डारीले शाहले पेस गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको थियो। यो मत ५३ सदस्यीय प्रदेशसभाको दुई तिहाइ भन्दा बढी हो। २६ माघमा संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहलाई काँग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत दिनुभएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १० र राप्रपाका १ जना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार २६ माघमा ढलेको थियो। सोही दिन मुख्यमन्त्रीमा नियुक्त हुनुभएका काँग्रेसका शाहलाई काँग्रेस र नेकपा एकीकृत समाजवादीले साथ दिएका थिए। तर राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि एमाले नेतृत्वको गठबन्धन टुटेपछि माओवादी र नागरिक उन्मुक्ति पार्टीले शाहलाई सघाउने अवस्था बनेको हो। सुदूरपश्चिमको हकमा शाहले पाएको मत ऐतिहासिक मत हो। यसअघि पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्टलाई  तत्कालीन नेकपाको ३७ सांसदको समर्थन थियो। योसँगै काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ।

भ्रष्टाचारविरुद्ध कठोर हुने

विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहले भ्रष्टाचारविरुद्ध कठोर रुपमा प्रस्तुत हुने बताउनुभएको छ। ‘सबैको साझा प्रतिनिधिको रुपमा काम गर्नेछुँ,’ उहाँले भन्नुभयो, ‘समृद्ध सुदूरपश्चिम बनाउने अभियानमा लाग्ने छुँ।’ संघीयतालाई बलियो बनाउने गरी काम गर्ने उहाँले बताउनुभयो।
‘प्रत्येक कदम संघीयतालाई बलियो बनाउने गरेर चाल्ने छुँ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सम्बन्धी उठेको नकारात्मक आवाजलाई निस्तेज गर्ने गरी काम गर्ने प्रतिबद्धता गर्छु।’ विगतमा भएका भ्रष्टाचारको सूक्ष्म अध्ययन गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाउनुभयो। ‘जनताप्रति इमान्दार रहने छु, भ्रष्टाचारका सन्दर्भमा निक्कै कठोर भएर उभिन्छुँ,’ उहाँले भन्नुभयो, ‘हिजोको दिनमा भएका कामको सूक्ष्म रुपले समीक्षा र अध्ययन गर्ने विश्वास दिलाउँछु।’