आर्थिक स्थायीत्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक: चेम्बर अध्यक्ष मल्ल

0
Shares

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायीत्वका लागि ब्याजदरमा लकअफ प्रणाली लागु गर्नुपर्ने बताउनुभएकाे  ।ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताउनुभएको हो ।

उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा शुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ । दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यवसायिक गतिविधी ठप्प प्राय भएको बताउनुभयो । अध्यक्ष मल्लले भन्नुभयो, ‘ब्याजदर १५÷१६ प्रतिशत सम्म कायम छ । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरु पलायन हुने अवस्था सिर्जना भएको छ, ।’

बैंक वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हुँदा पनि ऋणीहरु मर्कामा परेको अध्यक्ष मल्लले बताउनुभयो । उहाँले भन्नुभयो,‘आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायीत्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ,।’

उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिनुभयो । कृषि, पर्यटन, एवं साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष मल्लले दोलखा कृषि उत्पादनका दृष्टिकोणले अग्रणी भएपनि अपेक्षित लाभ प्राप्त हुन नसकेको बताउनुभयो । दोलखामा सामुहिक खेती प्रणाली मार्फत उत्पादन वृद्धि गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उहाँले जिल्लामा उत्पादित कृषि उपजहरुको बजारीकरणका लागि दोलखा चेम्बर अफ कमर्सले समन्वय गर्ने बताउनुभयो ।