देशको पक्षमा राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार

0
Shares

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको पक्षमा राम्रो गर्न खोज्दा सबैतिरबाट एमालेमाथि प्रहार भएको गुनासो गर्नुभएको छ ।

भक्तपुरको गठ्ठाघरमा शनिबार आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले एमालेजस्तो देश बनाउने पार्टी चुनावमा हार्छ भने देशको राजनीति र जनताको चेतनास्तर कहाँ छ भन्ने बुझ्न सकिने टिप्पणी गर्दै एमालेजस्तो पार्टीविरुद्ध सबैतिरबाट प्रहार गर्न खोज्नु देशकै लागि दुर्भाग्य भएको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो– ‘जनतालाई भ्रममा पार्न, जनतालाई सचेत हुन नदिन चटके कुरा गर्न केही शक्ति सफल भएका छन्, देशका जनतालाई भ्रममा पार्न खोज्ने, अलमल्याउने, पथभ्रष्ट पार्न खोज्ने शक्तिको जञ्जालबाट जनतालाई मुक्त गर्न बुद्धिजीवीले बिगुल फुक्नु आवश्यक छ ।’

बिनाप्रयास, बिनामिहिनेत नलडी कोही विजेता हुँदैन भन्दै उहाँले विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजीवीलाई आग्रह गर्नुभयो ।

उहाँले अहिले देशमा भ्रष्ट, जनविरोधी र राष्ट्रघाती तत्वहरूको आवाज चर्को बन्दै गएको बताउनुभयो । विरोधीहरूले एकैपटक आक्रमण गरे पनि आत्तिन हँुदैन भन्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो– ‘लगातार सय जना विरोधीले तपाईंको विरोध गरे भने, नकारात्मक टिप्पणी गरे भने नआत्तिनुस्, तपाईंको विचारबाट उनीहरू तर्सिए, आत्तिए र एकैपटक आक्रमण गर्न संगठित हुँदै सक्रिय भए भन्ने बुझ्नुस् । त्यसरी नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरू खनिए, विरोधीहरू संगठित रहेछन्, सक्रिय रहेछन् भन्ने बुझ्नुस् र आफ्नो तयारी गर्नुस् ।’ उहाँले बुद्धिजीवीहरूलाई पढ्न, विषयको अध्ययन गर्न र लेख्न आग्रह गर्दै तयारीका साथ संगठित भएर गलत विचारविरुद्ध सही विचार प्रवाह गर्न आग्रह गर्नुभयो ।

उहाँले बौद्धिक वर्गको विचारले अनुचित स्वार्थको विनाश गर्दछ यसर्थ गलत विचारलाई पराजित गर्न बौद्धिक संघर्ष आवश्यक रहेको बताउनुभयो । बुद्धिजीवीले गलत बाटोमा हिँडेकालाई सही र सुल्टो बाटो देखाउन तथा परिवर्तन र रूपान्तरणको बाटो देखाउन आवश्यक रहेको बताउनुभयो । ओलीले देशको हितविपरीत अनुचित स्वार्थमा लाग्ने तत्वको विनाशका लागि संघर्ष आवश्यक रहेको बताउनुभयो ।