प्रचण्डले चीनविरुद्ध गद्दारी गरे : ओली

0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाउनुभएको छ । सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको भन्दै उहाँले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गर्नुभयो ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउन खोजेको नभई विश्वविद्यालयको नाममा विदेशीहरूको खेल मैदान बनाउन खोजेको बताउनुभयो । भारतले त्यहाँको युरेनियममा ध्यान दिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरू मात्रै बस्छन् त्यहाँ । र, यो एउटा बहुतै खतरनाक कुरा हो ।’

एमाले अध्यक्ष ओलीले भारतलाई खुसी पार्न प्रचण्डले भारतबाट आउने तरकारीहरूको जाँच गर्नु नपर्ने आदेश दिएको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले सरकारमा बस्नेहरूलाई कुनै लाजसरम छैन । हाम्रो भान्साभान्सामा विषादीयुक्त चिज आउन दिने, नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन् कि हँुँदैनन् । त्यति हो कुरा । मालिक खुसी हुन्छन् भने नेपाली मरेर के भयो ? नेपालीका भान्सामा विषादी आएर के भयो ?’ ओलीले मुस्ताङमा ३१ सालमा भन्दा ठूलो मात्रामा विदेशी हस्तक्षेप बढाउन खोजिएको दाबी गर्नुभयो ।

विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री प्रचण्ड एमालेसँगको गठबन्धनबाट भागेको आरोप लगाउँदै ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको टिप्पणी पनि गर्नुभयो । एलिजा गौतमतर्फ संकेत गर्दै ओलीले भन्नुभयो– ‘एकजना हिरोइनको उपस्थितिमा आठ दलको बैठक बसेको छ, मुलुकमा तमासाहरू देखिन थालेको छ ।’