नेकपा एसले जिल्ला व्यापी अभियान चलाउने

अध्यक्षमा खड्का चयन 

0
Shares

ओखलढुंगा ।

नेकपा एकीकृत समाजवादीले जिल्ला व्यापी २ महिने अभियान चलाउने भएको छ । जिल्ला कमिटी पुनः गठन गर्दै जिल्ला भेलाले दुई महिने अभियान चलाउने निर्णय गरेको हो ।

यस अघि खाली रहेको जिल्ला अध्यक्षको कामकाज केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नेत्रप्रसाद भट्टराईले गर्दै आएका थिए । जिल्ला भेलाबाट पार्टी छाडेर जानेलाई कारबाही तथा पदाधिकारीलाई पूर्णता दिनेसँगै सङ्गठन विस्तार अभियानका लागि पालिका स्तरीय टोली नेता तोकिएको जिल्ला सचिव कमलबहादुर खड्काले बताए ।

नेकपा एसको जिल्ला भेलाबाट अध्यक्षमा मेखबहादुर खड्का चयन भएका छन् । उपाध्यक्षमा माबर सुनुवार र नरेन्द्रकुमार श्रेष्ठ, सचिवमा कमलबहादुर खड्का छन् । उप सचिवमा शारदा निरौला र सिपी ढुंगाना चयन भएका छन् । ५१ सदस्यीय जिल्ला कमिटी र १३ सदस्यीय सचिवालय तथा आठ विभाग गठन गरिएको छ । जिल्ला कमिटीमा ५१ मध्ये १५ जना मनोनीत गरिने जनाइएको छ ।

नेकपा एमालेले मिसन ग्रासरुट अभियान चलाएकै समयमा नेकपा एसले पनि २ महिने अभियान सुरु गर्न लागेको हो । यसका लागि पालिका स्तरमा टोली गठन भएको छ । केन्द्रीय सदस्यहरु बबी चाम्लिङ, कुलप्रसाद फुयल, निर्मला श्रेष्ठ लगायतका नेताहरूको उपस्थितिमा सम्पन्न भेलाबाट आठ टोली निर्माण गरिएको जिल्ला अध्यक्ष मेखबहादुर खड्काले बताए ।

उनका अनुसार दुई जना केन्द्रीय सदस्यसहित जिल्लाका पदाधिकारीहरूको नेतृत्वमा अभियान टोली तोकिएको छ । जस अनुसार चिशंखुगढीमा केन्द्रीय सदस्य निर्मला श्रेष्ठ, सिद्धिचरणमा अध्यक्ष खड्का, मोलुङमा उपसचिव शारदा निरौला, खिजीदेम्वामा राष्ट्रिय परिषद सदस्य योगेन्द्र बस्नेत अमृत टोली नेता तोकिएका छन् । त्यस्तै लिखुमा सचिव कमल खड्का, चम्पादेवीमा उपाध्यक्ष मावर सुनुवार, मानेभञ्ज्याङमा उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ र सुनकोसीमा जिल्ला ईञ्र्चाज नेत्र भट्टराईको नेतृत्वमा टोली गठन भएको छ ।

सदस्यता नवीकरण, वितरण, अभिलेख अद्यावधिक र पालिका तथा वडा स्तरमा कमिटी गठन गर्ने अभियानको कार्यसूची रहेको सचिव खड्काले जनाए ।