प्रदेश-१ को नाम कोसी राख्ने प्रस्ताव पारित

0
Shares

विराटनगर । प्रदेश-१ प्रदेश सभा बैठकमा प्रदेशको नाम ‘कोसी’ राख्ने नेकपा एमालेको प्रस्तावमाथि छलफल शुरू भएको छ । एमाले सांसद रामबहादुर राना मगरले कोसी प्रदेश नाम प्रस्ताव गर्नुभएको थियो । उहाँले पेस गरेको प्रस्ताव पारित भएपछि छलफल शुरू भएको छ । कोसीको पक्षमा ८२ जना रहेका छन् भने विपक्षमा ५ सदस्य रहेका थिए ।

प्रदेश सभामा माओवादीका तर्फबाट इन्द्र आङ्गबोले पहिचान पक्षधर कमजोर भएकाले कोसी प्रदेश स्वीकार गर्न परेको बताउनुभएको छ । उहाँले अघिल्लो पटकभन्दा यसपटक पहिचानको पक्षधर सांसद कम भएका कारण आफूहरूले कोसी प्रदेशमै सहमति जनाएको बताउनुभयो । प्रदेशसभामा नेकपा एकीकृतका सांसद राजेन्द्रकुमार राईले किरात–लिम्बुवान–सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेस गर्नुभएको थियो । प्रदेश सभाले मगरले पेस गरेको प्रस्तावलाई छलफलका लागि स्विकार्दै राईले पेस गरेको प्रस्तावलाई अस्वीकार गरेको थियो । प्रदेश सभाको बहुमतले कोसी नामलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किराँत–लिम्बुवान–सगरमाथाको प्रस्ताव अस्वीकृत भएको जानकारी प्रदेश सभालाई गराउनुभएको थियो ।

कोसीको पक्षमा एमाले, नेपाली कांग्रेस, माओवादी र राप्रपा देखिएका छन् । विपक्षमा एकीकृत समाजवादी र जसपा हुने देखिएको छ । नेकपा माओवादी केन्द्रले पहिचानको आधारमा नाम राख्न नसक्ने भएपछि प्रदेशको नामकरणमा बाधक नबनेको स्पष्टीकरण दिएको छ । बुधबार प्रदेशसभा बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले खोलानालाले पहिचान नखोजेको टिप्पणी गर्नुभयो ।
नेकपा एमालेले प्रदेशको नाम कोसी राख्न बुधबार नै प्रदेशसभामा प्रस्ताव पेस गरेको छ । कांग्रेस र माओवादी केन्द्रले पनि उक्त नाममा समर्थन जनाएका छन् । तर, आङ्बोले पाँच वर्षसम्म पहिचान र भूगोल केका आधारमा नाम राख्ने भन्ने विवाद हुँदा प्रदेशको नामकरण नै हुन नसकेको स्मरण गर्नुभयो ।

प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने पक्षमा आफ्नो पार्टी भए पनि अहिले राजनीतिक निकास दिने हिसाबले अगाडि बढेको आङ्बोले बताउनुभयो । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भूपेन्द्र राईले प्रदेशको नाम कोसीलाई पारित गर्न प्रस्ताव गर्नुभयो । छलफलका क्रममा उहाँले अहिलेसम्म नाम राख्न नसकेको भनेर प्रदेशको आलोचना भइरहेका बेला कोसी नाम पारित गर्नुपर्ने धारणा राख्नुभयो । यो नामले सिंगो प्रदेशलाई समेट्ने उहाँको भनाइ छ । नेकपा एमालेका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले कोसी नाम राख्दा सबै पक्षलाई समेटिने बताउनुभयो । सबै सभ्यता कोसीसँग जोडिएको बताउँदै उहाँले प्रदेशको नाम कोसी उपयुक्त भएको धारणा राख्नुभयो ।

राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले कोसी प्रदेशले सबै पहिचान समेट्ने भएका कारण कोसी प्रस्ताव पारित गर्न आग्रह गर्नुभयो । प्रदेश १ सरकारका स्वास्थयमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बूले बहुमतका आधारमा आफूलाई सती लगिएको आरोप लगाउनुभएको छ । प्रदेश १ प्रदेश सभामा प्रदेशको नामको विषयमा भएको छलफलमा उहाँले रुँदै आफू हाँसोको पात्र मात्रै भएको गुनासो गर्नुभयो । उहाँले प्रदेश नामको विषयमा सरकारमै भएको भए पनि आफूलाई थाहा नदिएको भन्दै दुखेसो पोख्नुभयो । उहाँले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसकेकोमा आफू दुःखी भएको बताउनुभयो ।

बुधबार प्रदेश १ को प्रदेश सभा बैठकमा प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गर्दै एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले भने एमाले र कांग्रेसले पूर्वप्रतिबद्धता भुलेको आरोप लगाउनुभयो । एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिबद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएको उहाँले बताउनुभयो । पहिलो संविधानसभामा पहिचान र भूगोल जोडेर नामकरण गर्ने गरी १३ वटासम्म प्रदेश मान्न सकिने भनी एमालेले नै प्रस्ताव गरेको दाबी गर्दै उहाँले अहिले पहिचानलाई मेट्ने गरी नाम प्रस्तुत गर्नु उचित नरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ को प्रदेशसभा सचिवालय भवन रहेको आसपासका क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रदेशसभा नामकरणको विषय टेबल हुँदा विरोध, धर्ना, जुलुस, झडप हुने सम्भावना रहेको भन्दै उक्त क्षेत्र निषेधित घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख तीर्थराज भट्टराईका अनुसार विराटनगरको देवकोटा चोकदेखि अस्पताल चोक र जिल्ला प्रशासन कार्यालय वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उता प्रदेश १ को नामकरण पहिचानका आधारमा हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालय नजिक प्रदर्शन भएको थियो । प्रदेशको नाम कोसी हुने लगभग निश्चित भएपछि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले विराटनगरको देवकोटा चोकमा पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।