प्रतिपक्षी बेन्चमा कांग्रेस-एमाले दुवैको दाबी

0
Shares

काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रतिपक्षी दल नेपाली कांग्रेससमेतको नयाँ समीकरण बनेसँगै सरकारबाट बाहिरिएको एमालेले प्रतिपक्षी बेन्चमा दाबी गरेको छ ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले एमालेसँग गठबन्धन गरेर बनेको प्रचण्ड सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बेको थियो । सत्ता राष्ट्रपति निर्वाचनका सन्दर्भमा फेरिएको समीकरणपछि एमालेले प्रतिपक्षी दलमा आफ्नो दाबी गरेको हो । तर, कांग्रेस सरकारमा गइनसकेकाले संसद्को सबैभन्दा ठूलो दलको हैसियतले प्राप्त गरेको प्रमुख प्रतिपक्षी सरकारमा नजाँदासम्म कायम रहने नेपाली कांग्रेसले दाबी कायमै राखेको छ ।

विश्वासको मत दिए पनि सरकारमा सहभागी नभएको भन्दै कांग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको छ । दुई ठूला दलहरू कांग्रेस र एमाले दुवैले प्रमुख प्रतिपक्षी दलको दाबी गरिरहँदा संसद् सचिवालयलाई समेत तत्काल निर्णय गर्न समस्या हुने भएको छ ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालीन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमबार एमालेले सरकार छाडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थनसमेत फिर्ता गर्दै सरकार छाडेकाले आफूहरू प्रमुख प्रतिपक्ष दल भएको एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी एमाले नै हो । नेकपा एमाले औपचारिक रूपमै प्रमुख प्रतिपक्षी दल बनेकाले प्रतिपक्षी बेन्चमा बस्छ ।’

यद्यपि, को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरूपण गर्ने काम संसद् सचिवालयको भएको नेताहरूले बताएका छन् । कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेस र एमाले दुवै दलले अहिलेसम्म आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको र कांग्रेस प्रतिपक्षी बेन्चमै बस्दै आएकाले आगामी सरकारमा नजाँदासम्म हामी नै प्रमुख प्रतिपक्षी दल हौं । संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहन्छौं ।’ एमाले पनि सरकारमा नरहेको अवस्था भए पनि संख्यात्मक हिसाबले कांग्रेस ठूलो दल भएकाले सरकारमा नजाँदासम्म स्वतः कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हुने उहाँको भनाइ छ ।

उता एमालेका केन्द्रीय सदस्य सांसद ठाकुर गैरेले एमाले संसद्को प्रतिपक्षी बेन्चमा बसेर जनताको आवाज संसद् र सडकबाट उठाउने बताउनुभयो । एमाले सरकारमा रहँदा पनि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै उहाँले कांग्रेस सत्तापक्ष अथवा प्रतिपक्ष दुवै हैसियतमा बस्न नसकेको समेत टिप्पणी गर्नुभयो ।