मतदाता नामावली अद्यावधिक गर्ने कार्यतालिका सार्वजनिक

94
Shares

काभ्रे । 

जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले चालु आर्थिक वर्षका लागि अन्तिम मतदाता नामावली तयार गर्ने प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि जिल्लामा ५ सय ९४ मतदाता थपिएका छन् ।

‘२०७९ फागुन २२ देखि वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा २०८० वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरूको नामावली प्रकाशन हुनेछ’–जिल्ला निर्वाचन अधिकारी उमेश राईले भन्नुभयो–‘त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्युको नाम हटाउने र दाबी विरोध गर्ने प्रयोजनका लागि २०७९ फागुन २३ गते देखि २५ गतेसम्म निवेदन दिन सकिन्छ । मृत्युको हकमा थप एक दिन २६ गतेसम्म निवेदन दिन सकिनेछ ।

’ निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर तथा विद्युतीय सामाग्री मार्फत निर्वाचन कार्यालयको वेभ साइटमा रहेको इमेल, फ्याक्स तथा अनलाइन मार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन अधिकारी राईले बताउनु भयो । मतदाता स्वयं वा निजका परिवारका सदस्यहरूले नाम हटाउने मृत्यु, बसाई सराई, दोहोरो नाम सम्बन्धमा अन्य कुनै पनि व्यक्तिले निवेदन दिन सक्नेछन् ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा ३ लाख १० हजार ६३ मतदाता थिए । अहिले मतदाताको संख्या ३ लाख १० हजार ६ सय ५७ जना मतदाता पुगेका छन् । जसमा महिला १ लाख ५२ हजार ३ सय ५१ र पुरुष १ लाख ५८ हजार ३ सय ४, अन्य २ जना रहेका छन् ।

नयाँ नाम दर्ताका लागि अनलाइन मार्फत विभिन्न विवरणहरू भरे पछि आयोगले दिएको मितिमा आफूलाई पायक पर्ने निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन सकिनेछ । फोटो खिचाउनु अघि फाराम भर्ने समयमा आफूलाई कहाँ पायक पर्ने सोही ब्यहोरा उल्लेख गर्नु पर्नेछ । काभ्रेपलान्चोक जिल्लाको नागरिक वा नेपालका ७७ वटै जिल्लाका नागरिकहरूले आफू बसेकै स्थानबाट फाराम भरेर फोटो खिचाउन सकिने व्यवस्था आयोगले गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले राजनीतिक दलहरूले समयमै सबै नागरिकहरूको मतदाता नामावलीमा विवरण भरेर फोटो खिचाउन तथा मृत्यु भएका व्यक्तिहरूको नामावली हटाउन सहयोग गर्न अनुरोध गर्नु भयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले नागरिकहरूलाई सहज बनाउने उद्देश्यले निर्वाचन आयोगले तयारी गरेको अनलाइन कार्यक्रम प्रभावकारी बनाउँदै आम नागरिकहरूले विवरण भर्न अनुरोध गर्नु भयो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।