पूर्वराजा ज्ञानेन्द्र परिवारसहित भारतमा

0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार अकस्मात साताव्यापी भारत भ्रमणमा गएका छन् । सोमबार दिउँसो पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, छोरी प्रेरणा, धीरेन्द्रका दुई पुत्री दिलासा र सिताष्मा निजी सचिव सागर तिमिल्सनालगायत झण्डै १० जनाको टोली सिलगुढी पुगेका छन् ।

स्रोतका अनुसार निजी भ्रमण भन्दै सोमबारमात्र सुरक्षादस्तालाई जानकारी गराएर ज्ञानेन्द्र सिलगुढीभन्दा केही पर पश्चिम बंगालको एक चियाबगानमा बस्नेगरी सपरिवार जानुभएको हो ।

सुरक्षाकर्मीबिना नै पश्चिमबंगालको चियाबगान पुग्नुभएका पूर्वराजाले भारतका केही नेतासँग भेटघाट गर्नसक्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

केही दिनपछि जाने कार्यक्रम भए तापनि अकस्मात सोमबारै भारत पुग्नुभएको छ । पछिल्लो समयमा राजनीतिमा सक्रिय देखिन थाल्नुभएका ज्ञानेन्द्रले राजतन्त्रसहितको प्रजातन्त्रको पक्षमा खुलेरै लाग्नुभएको छ । प्रजातन्त्र दिवसको दिन जारी विज्ञप्तिमा सबै एक भएर जानुको विकल्प नभएको बताउनुभएको थियो ।

त्यसपछि दुर्गा प्रसाईंले आयोजना गरेको हिन्दु धर्म बचाउ र राजा ल्याउनुपर्छ भन्ने अभियानको प्रमुख अतिथि बन्दा आलोचना खेप्नुपरेका ज्ञानेन्द्रले राजनीतिमा सक्रियता देखाउन खोज्नुभएको चर्चा चलेको छ ।

मंसिर ६ गतेदेखि झापामा रहँदै आउनुभएका पूर्वराजा ज्ञानेन्द्रले पत्नी कोमलको जन्मोत्सव झापामा मनाउनुभएको थियो । हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन राजावादीलाई गोप्य रूपमा दबाब दिनुभएका ज्ञानेन्द्रले झापा बसाइका क्रममा राप्रपाका उच्च तहका नेता तथा कार्यकर्तालाई भेट दिनुभएको थियो ।

कहिले चितवन त कहिले जनकपुर र सिमरा आउँदैजाँदै गर्नुभएका ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटमा हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसद्मा कडा रूपमा उठाउन आग्रह गर्नुभएको थियो ।

यसअघि क्रिसमस मनाउन चितवन पुगेका पूर्वराजा ज्ञानेन्द्रले सांसद विक्रम पाण्डे, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, बुद्धीमान तामाङ, ज्ञानेन्द्र शाहीलसँग चितवनमा भेट गर्नुभएको थियो भने राप्रपा सांसद दीपक सिंहले सिमरामा भेट गर्नुभएको थियो ।