५ करोडमा दरबारमार्गको स्वरूप परिवर्तन हुँदै

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ । महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ ।

सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले कामपाले एक साताअघि फागुन ८ गते पहिलो चरणको टेन्डर आह्वान गरेको नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँका अनुसार करिब ६ महिना अघिदेखि दरबारमार्गलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ भनी अध्ययन शुरू गरेको थियो । सबै सरोकारवालासँगको छलफलपछि करिब एक महिनाअघि दरबारमार्गको थ्रिडी नक्सा तयार भएको थियो । करिब एक वर्ष अवधिमा निर्माण र सौन्दर्यीकरण गर्ने काम पूरा गर्ने जिकिर गर्दै कामपाले नामअनुसारको क्षेत्रको व्यवस्थापन गर्ने बताएको छ । यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काष्ठमण्डपको आकृतिसहितको रेलिङ निर्माण गरिसकेको छ ।

विभागीय निर्देशक थापाले भन्नुभयो– ‘नयाँ ढल, बाटो, फुटपाथ अपग्रेडिङ, सडकबत्ती जडान, रूखमा बत्ती राख्ने, बाटोको दुवै साइडमा लाइटिङ जडान गर्ने, गमला सजावट, मौसमअनुसारको फूल, गार्डेनिङ, ग्रेनाइट बिच्छाउने, अन्डर ग्राउन्ड पार्किङलगायत सबै संरचना परिवर्तन गरी नयाँ स्वरूपको दरबारमार्ग बनाउने तयारीमा लागेका छौं । टेन्डर प्रक्रिया पूरा गर्न करिब ३ महिना लाग्नेछ ।’

महानगरले फुटपाथमा बटुवा र पर्यटक बस्न मिल्ने गरी छुट्टै संरचना बनाउने भएको छ । संघीय राजधानीका मुख्य रूपमा रहेको व्यापारिक क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा यसअघि राजधानीको बागबजार, पुतलीसडक, बानेश्वर, माइतीघरदेखि कोटेश्वर, सिनामंगलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सडकसम्म सौन्दर्यीकरण गरिसकेको छ ।

दरबारमार्गको भने बेग्लै किसिमको सजावट गर्न लागिएको छ । सो क्षेत्रमा प्रविधिमैत्री फुटपाथ निर्माण, डिस्प्ले बोर्ड, वृक्षरोपण गर्नेलगायतका योजना रहेको छ । निर्देशक थापाका अनुसार कामपाले रेलिङ निर्माण गर्ने, सवारी साधनको व्यवस्थापन गर्न सो क्षेत्रमा रहेका भवनको वेसमेन्टमा अनिवार्य पार्किङ गर्ने व्यवस्था मिलाउन लागिरहेको छ । त्यसै गरी हाल भइरहेका होडिङ बोर्ड हटाएर डिजिटल बोर्ड राख्ने, गमलासहितको विरुवा राख्ने, छुट्टै पार्किङ व्यवस्थापन गर्ने, सडकको विभिन्न भागमा लाइटिङ सिस्टम जडान गर्ने र छुट्टै बत्तीको व्यवस्था हुनेछ ।

कामपाले विभिन्न स्थानमा रहेको आइल्यान्डलाई सौन्दर्यीकरण गरिसकेको छ भने भद्रकालीको सडक र फुटपाथ व्यवस्थापन गर्ने तयारी पनि गरिरहेको छ । महानगर प्रहरीले शहर कुरूप देखिने सबै प्रकारको होर्डिङबोर्ड हटाइसकेको छ । होर्डिङबोर्ड हटाएको क्षेत्रमा डिजिटल बोर्ड राख्ने तयारी गरेको छ ।