वागमतीमा एमाले फागुन २५ को प्रतीक्षामा

0
Shares

हेटौंडा । वागमती प्रदेश सरकारबाट नेकपा एमाले तत्काल अलग नहुने भएको छ । एमालेले वागमती प्रदेशमा तत्काल सरकार नछाड्ने भएको हो । केन्द्रबाट निर्देशन नआएसम्म एमालेले सरकार नछाड्ने जनाएको छ । राप्रपाले जस्तो एमालेले निर्णयमा प्रदेशबारे बोलेको छैन । एमाले राष्ट्रपति निर्वाचन (फागुन २५) सम्मको प्रतीक्षामा देखिएको छ ।

एमालेको यस्तो निर्णयले सत्तामा जान तम्तयार देखिएका नेपाली कांग्रेस र एकीकृत समाजवादीको यात्रामा राष्ट्रपति निर्वाचनसम्मका लागि ब्रेक लागेको छ ।

राष्ट्रपति निर्वाचन अघिसम्म सरकार नछाड्ने एमालेको निर्णय भए पनि सोमबार नै केन्द्रीय तहमा भने एमालेले सरकार छाडिसकेको छ । केन्द्रको निर्देशन कुरेर बसिरहेका प्रदेशका मन्त्रीहरू सत्तामा रहने कि सत्ताबाहिर रहने भन्ने विषयमा अन्योलमा छन् । यद्यपि, केन्द्रीय निर्देशन प्राप्त भए एमालेका मन्त्रीहरू तत्काल सरकार छाड्ने विषयमा सकारात्मक देखिएका छन् ।

सोमबार केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई गरेको समर्थन फिर्ता लिए पनि वागमतीमा भने तत्काल सरकार छाड्ने स्थितिमा एमाले नरहेको प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले बताउनुभएको छ ।

‘केन्द्रबाट जस्तो निर्देशन आउ“छ, हामी त्यसअनुसार निर्णय गर्छौं । हालसम्म सरकारको समर्थन फिर्ता लिने वा राजीनामा दिने भन्ने आएको छैन,’ मन्त्री श्रेष्ठले भन्नुभयो । प्रदेश सरकार छाड्दा सबैतिर एकैपटक छाड्ने र एमालेले नेतृत्व गरेका प्रदेश सरकारबाट पनि तत्काल माओवादीले समर्थन फिर्ता नलिएको र मन्त्रीहरूले नछाडेको अवस्था रहँदा उहाँको यस्तो अभिव्यक्ति आएको बुझिन्छ ।

‘तत्कालका लागि प्रदेश सरकार नछाड्ने र पार्टीको केन्द्रबाट निर्देशन आएपछि निर्णय लिनेछौं,’ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री तथा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भन्नुभयो ।

प्रदेश सरकारमा एमाले वागमती प्रदेश संसदीय दलका नेता थपलिया, श्रेष्ठसहित रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री हुनुहुन्छ । १ सय १० सदस्यीय वागमती प्रदेशसभामा एमालेका २७ सदस्य छन् ।