राष्ट्रपति चुनाव : निर्वाचन आचारसंहिता लागू

0
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आज बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

यही फाल्गुण २५ गते हुने राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी सो आचारसंहिता जारी गर्ने निर्णय गरेको हो । दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

गत भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, संख्या ३२ मा प्रकाशित आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीलाई लाग्नेछ ।

त्यस्तै, राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ । संवैधानिक व्यवस्थाअनुसार सो निर्वाचनका लागि संघीय संसद्मा हाल कायम रहेका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० गरी कुल ८ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल रहनेछ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैलाई आग्रह गरेको छ । नेपालको संविधानको पालना र संरक्षण तथा राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने राष्ट्राध्यक्ष जस्तो सर्वोच्च र गरिमामय पदको निर्वाचनमा निर्वाचनसम्बन्धी कानुन र आचारसंहिता पालनाको विषयमा प्रश्न उठ्नु कुनै पनि दृष्टिकोणबाट शोभनीय नहुने भन्दै आयोगले आचारसंहिता पालनामा जोड दिएको छ ।

प्रवक्ता पौडेलले भन्नुभयो– ‘आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्नु सम्बद्ध सबै पक्षको दायित्व र जिम्मेवारी हो । कानुनी आधार र प्रावधानसहितको नैतिक बन्धनको रूपमा रहेको आचारसंहिताको पालना गरी सबै मतदाताहरूको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकारको सम्मान गर्नुपर्दछ ।’ निर्वाचनको निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन नपाउने गरी निर्वाचन सम्पन्न गर्ने आयोगको सत्प्रयासमा सबै क्षेत्रबाट सहयोग हुने आयोगले अपेक्षा गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।

स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र दर्ता भइसकेको छ । मंगलबार सा“झसम्म उम्मेदवार फिर्ता लिन सक्ने तोकिएकोमा कसैले पनि फिर्ता नलिएपछि उम्मेदवारी दिएका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामावली समावेश गरी आयोगले अन्तिम नामावली प्रकाशित गरेको थियो ।