संघ र प्रदेशका सबै सरकार गठबन्धनको : गगन थापा

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले गत पुस १० को गठबन्धन भत्किएकाले र अब संघ तथा प्रदेशका सबै सरकार गत निर्वाचनकै गठबन्धनबाट बन्ने दाबी गर्नुभयो ।

केन्द्रदेखि प्रदेशसम्म अब कांग्रेससहितको गठबन्धनबाटै सरकार बन्ने दाबी गर्दै थापाले भन्नुभयो– ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ । पुस १० मा अस्वाभाविक रूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ । अँध्यारोमा होइन, उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो ।’

उहाँले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकाले त्यो गठबन्धनले सरकार बनाउनु स्वाभाविक हुने बताउनुभयो । अब हाम्रो अगाडिको बाटो सहज नभएको जिकिर गर्दै महामन्त्री थापाले गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै दलहरू जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।