बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध डडेल्धुराका उद्योगी व्यवसायीहरु आक्रामक आन्दोलनमा 

0
Shares

डडेल्धुरा।

बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै डडेल्धुराका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्वमा मंगलबार सदरमुकाममा प्रदर्शनसहित बजार बन्द गर्दै उद्योगी व्यवसायीहरु आक्रामक आन्दोलनमा उत्रिएका हुन ।

बिहानदेखि ११ बजेसम्म बजार बन्द गरेका उद्योगी व्यवसायीहरुले सदरमुकाम बागबजारदेखि सुरु गरेको ¥याली तुफान डाँडा हुँदै फेरि बागबजार पुगेर कोणसभामा परिणत भएको थियो । बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध शान्तिपूर्ण विरोध ¥याली गरिएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्वीजराज भट्टले बताउनु भयो ।

डडेल्धुरा उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ संस्थाहरु, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुबिरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो । डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष भट्टले फागुन १८ गतेसम्म चरणबद्ध आन्दोलन गरिने जानकारी दिनुभयो । उँहाका अनुसार प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने, फागुन १७ गते बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने, १८ गते कुनै पनि बैंकमा बचत नगर्ने र त्यसपछि पनि माग सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरिएको छ ।

लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेपछि बजार बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष भट्टले बताउनु भयो । यस्तै डडेल्धुरामा शिवशिखर बहुउद्देश्यीय सहकारी लिमिटेडले संकलन गरेको निक्षेप नियमअनुसार फिर्ता गर्न र लघुवित्त संस्थाको अनुगमन गर्न पनि व्यवसायीहरुले माग गरेका छन् । व्यापारीहरुले एकल अंक हुने गरी ब्याजदर घटाउन, व्यवसायीलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न, किस्ता र ब्याजको समय सीमा बढाउने लगायतका सात बुँदे माग अघि सारेका छन् ।

कर्जामा भएको ब्याजदर अबिलम्ब घटाउन र व्यवसायीलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न किस्ता र ब्याजको समय सीमा बढाउन माग गरिएको छ । बैंकहरुको खर्च न्यूनीकरण गरेर स्पेड दर तीन प्रतिशतभित्र रही जोखिमका आधारमा बढीमा दुई प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था गर्न उद्योगी व्यवसायीहरुको माग छ ।

बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल.सी., नेगोशेशन शुल्क वृद्धिलाई अन्त्य गरेर गत वर्षको भन्दा बढी लिन नपाइने माग गरिएको छ भने हाल भएको कर्जालाई यस आर्थिक वर्षसम्म पुनः तालिकरण गरेर ब्याज बुझाउने म्यादलाई नियमित हाल्ने र लिलाम तथा कालोसूची गर्ने प्रक्रियालाई हाल स्थगित गर्न माग गरिएको छ । यसैगरि हालको बाह्य र आन्तरिक कारणको समय उपयुक्त नभएकाले चालू पुँजी कर्जा निर्देशिका स्थगनको माग गरिएको छ भने विभिन्न शीर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी, मनासिब बनाउन कर्जाको ब्याजदर पुनर्संरचना गर्न माग गरिएको छ ।

राजनीतिक अस्थिरताका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न, बैंकको मुनाफालाई रोजगार सिर्जना एवं पर्यटन, कृषिलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्न माग अघि सारिएको छ भने डडेल्धुरामा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जिल्लाका व्यवसायी र सर्वसाधारणबाट संकलन गरेको निक्षेप रकम निमयमानुसार फिर्ता गर्न जोडदार माग गरिएको छ । यसैगरि डडेल्धुरामा रहेका लघुवित्त संस्थाले लिने अस्वभाविक ब्याज र सेवा शुल्कका कारण धेरैको उठिबास भइरहेकाले आवश्यक अनुगमन गरेर नियमानुसार सञ्चालनका लागि जोडदार माग गरिएको छ ।