१५ वर्षमा ४५ लाखले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय

आजबाट ई–टिकेटिङ सेवा शुरू

0
Shares

 काठमाडौं । नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।

पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको सङ्ग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिनुभयो । अवलोकन गर्नेमा हालसम्म सबैभन्दा बढी नेपाली रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय सङ्ग्रहालय घोषणा गर्नुभएको थियो । त्यसको ८ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी सङ्ग्रहालयको औपचारिक उद्घाटन गर्नुभएको थियो । सोही वर्ष फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्ग्रहालयको उद्घाटन गर्नुभएको थियो ।

त्यसपछि नेपाली विद्यार्थी रहेका छन् । पछिल्लो समय सार्क मुलुकका पर्यटकको आकर्षण बढ्दै गएको समितिले जनाएको छ । नेपालमा आउने भारतीय मुलुकको पर्यटकमध्ये अधिकांशले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । समितिले सङ्ग्रहालय अवलोकन गर्न विद्यार्थीले ५०, सर्वसाधारणलाई २ सय, सार्क र चीनका पर्यटकलाई जनही ५ सय र अन्य मुलुकका पर्यटकसँग १ हजार रुपियाँ लिने व्यवस्था छ ।

सङ्ग्रहालय प्रशासनले ९ वर्षभन्दा मुनि र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । समितिले सोही टिकटको आधारमा स्वर्गीय राजा वीरेन्द्रको निजी निवास श्रीसदन र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न मिल्ने व्यवस्था गरेको छ ।

७ सय ५४ रोपनी क्षेत्रफल रहेको नारायणहिटी परिसरमा सङ्ग्रहालयले ३ सय १८ रोपनी क्षेत्रफल मात्रै ओगटेको छ । सङ्ग्रहालयमा स्वर्गीय राजा वीरेन्द्रको शुभ–राज्यभिषेकको सुनौलो बग्गी प्रदर्शनीमा राखिएको छ । सङ्ग्रहालयमा राजा वीरेन्द्र, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारी साधन राखिएको छ ।

सङ्ग्रहालयभित्र ३१ वटा कक्ष खोलिएको छ । अवलोकनका लागि खुला गर्न बाँकी विभिन्न सदनको बारेमा अध्ययन शुरु गरेका भइरहेको सङ्ग्रहालय प्रशासनले जनाएको छ । त्यसै गरी राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीनवटा सवारीसाधन, हेलिकोप्टरलगायतका, ऐश्वर्य बगैंचालगायतको संरचना खुला गर्ने तयारीमा छ ।

पछिल्लो समय सङ्ग्रहालयको अवलोकन गर्ने क्षेत्र बढाएपछि सङ्ग्रहालय अवलोकन गर्नेको संख्या बढ्न थालेको छ । यसअघि नारायणहिटी, त्रिभुवन सदन र त्यससँगै रहेको बगैंचा मात्र घुम्ने व्यवस्था थियो । पछि शहीद स्मारक, श्रीसदन, वीरेन्द्र परिवारले प्रयोग गरेको घर, बग्गी, हेलिकोप्टरलगायत अवलोकन गर्न पाउने भएपछि विशेष गरी विद्यार्थी र नेपालीको संख्या ह्वात्तै बढेको सङ्ग्रहालय समितिको दाबी छ ।

आजबाट ई–टिकेटिङ सेवा शुरू

नारायणहिटी सङ्ग्रहालय तथा नारायणहिटी दरबार सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज मंगलबारबाट ई–टिकेटिङ सेवा शुरू गर्ने भएको छ । सङ्ग्रहालय स्थापना भएको १४ वर्ष पूरा गरी १५ वर्षमा पुगेको अवसरमा ई–टिकेटिङ सेवा शुरू गर्न लागेको हो ।

सङ्ग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले कार्यालयलाई पेपरलेस बनाउने योजनाअनुसार ई–टिकेटिङ सेवा शुरू गर्न लागेको जानकारी दिनुभयो । व्यवस्थित रूपमा टिकटका बिक्रीवितरण गर्न र अवलोकनकर्ताको सहजताका लागि सो व्यवस्था गरेको समितिको दाबी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले ई–टिकेटिङ सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । सङ्ग्रहालय स्थापना दिवसको अपलक्ष्यमा आज मंगलबार दिउँसो आयोजना हुने कार्यक्रममा सङ्ग्रहालयका सबै पूर्वप्रमुखलगायतको उपस्थिति रहनेछ ।