पलाञ्चोक भगवती मन्दिर परिसरमा ज्ञान महायज्ञ

0
Shares

पलाञ्चोक, काभ्रे । 

पाँचखाल नगरपालिका ९ स्थित पलाञ्चोक भगवती मन्दिर परिसरमा श्रीमद् भागवत सत्सङ्ग ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उद्घाटन गर्नु भएको छ ।

धार्मिक व्यक्तित्व कृष्णप्रसाद पौडेलको संकल्प बमोजिम पण्डित रामचन्द्र आचार्य तथा डेगनाथ ढकालको मुखराविन्दबाट श्रीमद् भागवत सत्सङ्ग ज्ञान महायज्ञमा कथा बाचन हुनेछ ।

फागुन १५ गते सोमबार सुरु भएको महायज्ञ २३ गतेसम्म संचालन हुनेछ । महायज्ञबाट संकलन भएको रकमबाट सोही क्षेत्रको धार्मिक क्षेत्रको विकास तथा शव बाहन खरिदका लागि सहयोग गर्ने बताउनु भयो । ज्ञान महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा गरिएको छ ।

हरेक दिन मण्डप पूजा, ब्यास पूजा, आरती, पुष्पाञ्जली, पाठपारायण, कथा बाचन, माहात्म्ये सत्सङ्ग सहित समापन हुनेछ । महायज्ञबाट उठेको रकमले अनाथ असहाय र विपन्न वर्गका शिक्षाबाट वञ्चित बालबालिकाहरुको अध्ययनको लागि अक्षयकोष खडा एवम अनाथलयको स्थापना गरिने धार्मिक व्यक्तित्व कृष्णप्रसाद पौडेलले बताउनु भयो । कार्यक्रममा भरत खड्काको सभापतित्व रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष रामकाजी श्रेष्ठ, पूर्व वडा अध्यक्ष पुष्कल ढकाल, पूर्व गाविस अध्यक्ष भैरव सेढाई, स्थानीय रामचन्द्र श्रेष्ठ लगायतले महायज्ञको सफलताको कामनाका साथै संकलित रकमबाट सामाजिक कार्य गर्ने बताउनु भयो ।