मगर समुदायले मनाए ४१औँ स्थापना दिवस (तस्बिरसहित)

0
Shares

म्याग्दी ।

म्याग्दीमा बसोबास गर्दै आएका मगर समुदायले आज (सोमबार) ४१औँ स्थापना दिवस मनाएका छन् । ‘सम्पूर्ण मगरहरु एक होऔँ, भाषा, कला र संस्कृतिको संरक्षण गरौँ’ भन्ने नारासहित मगर समुदायले एक समारोहबीच आफ्नो स्थापना दिवस मनाएका हुन् ।

नेपाल मगर संघको ४१औँ स्थापना दिवसको अवसरमा आफ्नो जातीय भेषभूषामा सजिएका स–साना बालबालिका, किशोरकिशोरी, युवायुवती र बुढाबुढीहरुले लोपोन्मुख सोरठी, सालैजो, यानीमाया, मारुनी, सुनीमाया, ख्यालीभाका लगायतका पुख्र्यौली गीत र नृत्यमा छमछमी नाच्दै दिवस मनाएका छन् । मगर समुदायले जातीय भेषभूषमा सजिएर सांस्कृतिक र्‍यालीसहित म्याग्दी सदरमुकाम बेनीबजारको परिक्रमा गरेका थिए ।

स्थापना दिवसको अवसर पारेर नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर स्मृति अन्तरमावि लोकनृत्य प्रतियोगिताको समेत आयोजना गरेको थियो । स्थापना दिवसको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । मगर समुदायमा रहेको लोपोन्मुख कला, संस्कृतिको संरक्षण तथा पहिचान गर्ने उद्देश्यसहित स्थापना दिवस मनाइएको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकेश पुन मगरले बताउनुभयो ।

स्थापना दिवसमा सदमुकाम बेनीमा मगर जातिको पहिचान झल्कने जातीय भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहितका कार्यक्रमहरु पनि भएका छन् । उनीहरुले मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्य प्रस्तुत गरेका थिए । जनजाति र त्यसमा पनि मगर समुदायको बाहुल्यता भएको म्याग्दीमा स्थापना दिवसको अवसरमा अन्य जातजातिलाई पनि बोलाएर एकापसमा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम समेत गरिएको मगर संघ म्याग्दीले जनाएको छ ।

भेषभूषा र झाँकीसहितको र्‍यालीमा मगर समुदायले आफ्नो हस्तकलाका सामानहरु प्रदर्शन गर्नुका साथै कलाकौशल पनि देखाएका थिए । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीको अधिकांश ठाउँमा मगर समुदायको बाहुल्यता रहेको छ । म्याग्दी जिल्लामा कुल जनसङ्ख्याको झण्डै ४० प्रतिशतको हाराहारीमा मगर समुदायहरु बस्दै आइरहेका छन् ।