मण्डनदेउपुरमा प्रशासन र जनप्रतिनिधिबीच अन्तरक्रिया

प्रशासनमा डेस्क स्थापना गर्न जनप्रतिनिधिको अनुरोध

0
Shares

मण्डनदेउपुर, काभ्रे।

मण्डनदेउपुर नगरपालिकाका जनप्रतिनिधिहरुले प्रशासन कार्यालयबाट नागरिकलाई सेवामा सहज बनाउन स्थानीय तहले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतका कार्यालय प्रमुखहरुलाई स्वागत गर्दै स्थानीय सरकारका प्रतिनिधिहरुले नागरिकलाई प्रवाह गर्ने सेवामा सहजिकरणका लागि स्थानीय स्तरमा नै छलफल गरी सरलीकरण गर्ने प्रयास गरिएको बताए ।

‘जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका अन्य सेवामा स्थानीय तहका प्रतिनिधिहरुले सिफारिस तथा अन्य सेवा प्रवाह गर्दा ध्यान दिनु पर्ने विषयमा गहन छलफल हुँदा नागरिकको सेवामा सरलीकरण हुने भयो’–नगर प्रमुख टोकबहादुर वाईवाले भन्नुभयो–‘नागरिकताका कयन समस्या छन् । नागरिकहरुले राहदानी समयमा नै पाउन के गर्नु पर्छ ? राष्ट्रिय परिचयपत्र खिच्न तथा नम्बर लिन के गर्नु पर्छ ? नागरिकहरुले प्रशासन कार्यालयबाट पाउने सेवालाई स्थानीय तहबाट कसरी सरलीकरण र सहजीकरण गर्न सकिन्छ ? विकास निर्माणमा समन्वय र सहकार्य कसरी हुन सक्छ ?’

नगर प्रमुख टोकबहादुर वाईवाले मण्डनदेउपुर क्षेत्रमा हुने विभिन्न विकास निर्माणका कार्यलाई प्रशासनका तर्फबाट सहजीकरण गरिदिन अनुरोध गर्नु भयो । नगरकोटको पर्यटकीय क्षेत्र, नगरपालिकाका प्रशासनिक भवन निर्माण, नगरकोट कुन्ता सडक तथा कुन्ता दोलालघाट सडक लगायतका अन्य महत्त्वपूर्ण आयोजना निर्माणमा प्रशासनले समन्वय गरिदिँदा निर्माण कार्यले गति लिने उपप्रमुख विष्णुमणी नेपालले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकका नागरिकता लगायतका समस्या व्यक्ति अनुसार फरक फरक हुने भएकाले कानुनले उल्लेख गरेका तथा परिभाषा भित्र परेका ब्यक्तिहरुलाई सहज ढङ्गबाट नागरिकताका लागि सिफारिस गरिदिन अनुरोध गर्नु भयो ।

वडाअध्यक्षहरुले प्रशासनसँग समन्वय गर्न अलग्गै डेस्कको माग गरेका थिए । जिल्लामा रहेका १ सय ३५ वटै वडाका वडा अध्यक्षहरुले नागरिकता लगायतका सिफारिसमा समस्या आउँदा वा दोधार भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरेर समाधान गर्ने गरी डेस्क स्थापना गरिदिन प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई अनुरोध गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकलाई सेवामा सहज बनाउन वडा अध्यक्षहरुले राखेको प्रस्तावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई सम्पर्क गर्ने गरी व्यवस्था मिलाउने बताउनु भयो । ‘तपाईहरु कानुन विपरीत कुनै पनि सिफारिस नगर्नुस्, नागरिकले झुक्याएर सिफारिस लिने अवस्था आउन नदिन सचेत गराउनुस्’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘घटना विवरणमा दर्ता वा सिफारिसका आधारमा विवरण फरक पर्न गएको छ भने स्थानीय सर्जिमिन तथा कागजात र कानुन अनुसार फरक नपर्ने गरी बाधा फुकाई सेवा दिनु पर्छ ।’

स्थानीय सरकार र प्रशासन समन्वयमा काम गर्ने भएकाले नागरिकहरुलाई सेवा दिन सबै निकायको समन्वयमा कमी हुन नदिने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो । कालीजंग गणका गणपति कर्णेल प्रकाशबहादुर सिंहले नागरिक र सुरक्षा निकायको समन्वयमा विपद् तथा नागरिकहरुलाई सहज सेवा प्रदान गर्ने क्षेत्रमा सहकार्य हुने बताउनु भयो । प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले शान्ति सुरक्षा कायम राख्न नागरिकहरुको सक्रिय सहभागिता र सहयोग तथा समन्वय आवश्यक रहेको बताउनु भयो । वडा अध्यक्ष राजकुमार पराजुलीले प्रहरी चौकी स्थापना गरिदिन अनुरोध गर्नु भयो । वडा अध्यक्ष दीपेन्द्र लामाले अवैध खानी चलिरहेको बताउँदै दिउसो पनि टिपर सञ्चालन गर्न अनुरोध गर्नु भयो ।

वडा अध्यक्ष निरञ्जन विष्टले सडक बत्ती, क्यामेरा तथा अन्य पूर्वाधारका कारण शान्ति सुरक्षामा असर परेको बताउँदै त्यसको समाधानका लागि स्थानीय तहबाट हुने पहललाई सहजीकरण अनुरोध गर्नु भयो । अधिकांश वडा अध्यक्षहरुले नागरिकता सिफारिसमा भएका समस्याका बारेमा धारणा राखेका थिए । वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले जग्गाको सिमांकन नकाटिँदा सिफारिसमा समस्या परेको बताउनु भयो ।

यस अघि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट दोहोरो नागरिता लिने झण्डै २० जना भन्दा धेरै ब्यक्तिहरुलाई मुद्दा चलाए पछि वडा अध्यक्षहरु समेत तानिएका थिए । दोहोरो नागरिकता तथा गलत विवरण राखेर सिफारिस गरेका आधारमा वडा अध्यक्षहरु समेत मुद्दाको भागिदार भए पछि मण्डनदेउपुर नगरपालिकामा निर्वाचित वडा अध्यक्षहरुले नागरिकता लगायतका समस्यामा समाधानका लागि जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत डा. लोकबहादुर लोप्चन, शाखा प्रमुखहरुले प्रशासनबाट हुने कार्यमा सहजीकरणको अपेक्षा गरेका थिए ।