खोटाङमा मत्स्यपालन व्यवसाय : युवाहरूको बढ्दो आकर्षण, लोभ लाग्दो आम्दानी

0
Shares

खोटाङ । खोटाङका युवाहरू पछिल्लो समय रेन्बोट्राउट माछापालन व्यवसायप्रति आकर्षित बनेका छन् । पहाडको चिसो पानीमा हुने रेन्बोट्राउट माछाको माग र मूल्य राम्रै भएकाले युवाहरू यसप्रति आकर्षित बनेका हुन् ।

उत्पादन भइसकेको माछा कहाँ बेच्ने भन्ने डर होईन बरु माग पु¥याउन नसकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका शरण राईको भनाइ छ । पानीको श्रोत राम्रो भएकाले पनि यसप्रति लोभिएको राईले बताउनुभयो ।

स्थानीय शुरेश भुजेलसँग ३६ लाख खर्च गरेर १५ वटा पोखरीमा माछा पालन गर्दै आएको राईले जानउनुभयो । दुई युवा मिलेर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिकैको तालखर्कमा १० बर्षदेखि माछा पालन गर्दै आउनुभएको छ । उक्त ब्यवसायको लागि १ नम्बर प्रदेश सरकारबाट १५ लाख रूपियाँ अनुदान पाएको उहाँहरूले सुनाउनुभयो ।

यस्तै,साकेला गाउँपालिका–३ खिदीमाका युवाले पनि रेन्बोट्राउट माछा पालन गरेका छन् । तावाहाङ रेन्बोट्राउट कृषक समूहमा आवद्ध २५ जनाले माछा पालन गरेका हुन् । करिब एक करोडको लागतमा निर्माण गरिएको १९ पोखरीमा दुई वर्षदेखि माछा पाल्न शुरू गरेको निशान राईले बताउनुभयो । राईका अनुसार गत वर्ष पाँच लाख रूपियाँको माछा बिक्री गरेका छन् । यो वर्ष करिब १२ सय केजी माछा तयारी भएको राईले सुनाउनुभयो । प्रतिकेजी १५ सय रूपियाँ दरले बेच्दा १८ लाख रूपियाँ हुने राई सुनाउँनुहुन्छ ।

जिल्लाका अन्य युवा तथा युवा समुहहरुले पनि यो ब्यवसाय अपनाउँन थालेका छन् ।