अभिनेता शाहले पाए पूर्ण सफाइ, सोमबार थुनामुक्त हुँदै

0
Shares

तनहुँ । अभिनेता पल शाहले पूर्ण सफाइ पाउनुभएको छ । उहाँले उच्च अदालत पोखराको सुनुवाइबाट पूर्ण सफाइ पाउनुभएको छ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार सुनुवाइबाट पूर्ण सफाइ पाउनुभएको हो । उच्च अदालत पोखराले पूर्ण सफाइ दिँदै सोमबार थुनामुक्त गर्न आदेश भएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो । ‘आज उच्च अदालतले पूर्ण सफाइ दियो, भोलि सोमबार पल शाह थुनामुक्त हुनुहुन्छ’, वरिष्ठ अधिवक्ता वाग्लेले भन्नुभयो– ‘सोमबार जिल्ला कारागार तनहुँबाट उहाँलाई बिदाइ गरिनेछ ।’

नाबालिकामाथि जबरजस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपियाँ जरिवाना सुनाएको थियो । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिइसकेको छ । नवलपुर अदालतको फैसलाअनुसार अहिले शाह तनहुँ कारागारमा जेल सजाय बिताइरहनुभएको छ ।