परराष्ट्रमन्त्री जेनेभातर्फ

0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा सहभागी हुने क्रममा राष्ट्रिय मानवअधिकार आयोगलाई ‘क’ श्रेणीमै कायम राख्न पहल गर्ने बताउनुभएको छ ।

परिषद्को बैठकमा भाग लिन आइतबार स्वीजरल्यान्डको जेनेभातर्फ प्रस्थान गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौड्यालले यस्तो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– ‘मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जालले नेपालको मानव अधिकार आयोगलाई ‘ख’ श्रेणीमा घटुवा गर्न सिफारिस मात्र गरेको हो, घटुवा भइसकेको छैन । त्यसैलै ‘क’ श्रेणीमै कायम राख्न हाम्रो प्रयास रहने छ ।’

पत्रकार सम्मेलनमा मन्त्री पौड्यालले मानव अधिकारको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धिहरूको बारेमा जानकारी दिन यो सम्मेलनमा नेपालको सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाल यो परिषद्को सदस्य राष्ट्र हो । सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र द्विपक्षीय एवं बहुपक्षीय छलफलको माध्यमबाट नेपालको अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउन यो बैठकको उपयोग गर्नेछौं ।’

मन्त्री पौड्याल जेनेभाबाट फर्केर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।