विरोधी अपहरण एकीकृत अभ्यास सम्पन्न

0
Shares

काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपतकालिन योजना अनुसार विमानको गैरकानूनी कब्जा-सूचना-4 अन्तर्गत नेपाली सेना, श्री युद्धभैरव गण (स्पेसल फोर्स) को फौजद्वारा आइतबार प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा विरोधी अपहरण एकीकृत अभ्यास सम्पन्न भएको छ ।

सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ नेपाली सेना लगायतका सरोकारवाला निकायहरु बीच आ-आफ्नो भूमिकामा असरदार रुपले परिचालन हुन विमानस्थल आपतकालिन कार्य योजनामा आधारित रही उक्त अभ्यास संचालन भएको हो ।

अभ्यासमा नेपाली सेनाका विभिन्न युनिटहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्‍ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगम लगायतका सरोकारवाला निकायहरुको समन्वय र सहभागिता रहेको थियो ।

अभ्यासमा जहाज अवतरणदेखि सम्पूर्ण जिम्मेवार निकायहरुसँग समन्वयका साथै अपहरण वा अवान्छित तत्वले विमान नियन्त्रणमा लिएको अवस्थामा Armed Intervention, Hostage Rescue लगायतका गतिविधि समावेश गरिएको थियो ।

अभ्यास अवलोकनका लागि रक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्‍ययन एवं परराष्ट्र मन्त्रालयका सचिवहरु, बलाधिकृत, बलाध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, गृह मन्त्रालयका सह सचिव, नेपाल नागरिक उड्‍ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखहरु लगायत सरोकारवाला मन्त्रालय एवं निकायहरुका पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।