अभिनेता शाहको सुनुवाइ सकियो

0
Shares

तनहुँ । 

अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ सकिएको छ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार सुनुवाइ भएको हो । सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना रहेको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

नाबालिकामाथि जबरजस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपियाँ जरिवाना सुनाएको थियो । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिइसकेको छ । नवलपुर अदालतको फैसलाअनुसार अहिले शाह तनहुँ कारागारमा जेल सजाय बिताइरहनुभएको छ ।