मध्यपुर थिमीका उपप्रमुख श्रेष्ठमाथि हातपात 

0
Shares

भक्तपुर ।
मध्यपुर थिमी नगरपालिकाका उपप्रमुखलाई विकास निर्माणको अनुगमनको क्रममा हातपात भएको छ । मध्यपुर थिमी नगरपालिकाको विकास निर्माणको कार्यक्रम अन्तरगत अनुगमनमा निस्केका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको हो ।
नगरपालिकाको मध्यपुर थिमी नगरपालिका वडा नं ५ बस्ने सुमन जोशी लगायतका समूहहरूले नगर उपप्रमुखमाथि हातपात गरेको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्षसमेत रहेका उनलाई हातपात गरी घाइते बनाउने उद्देश्यले कुटपिट गरेको घटनाको थिमी नगरपालिका र पार्टीले भर्त्सना गरेको छ ।
विज्ञप्तिमार्फत नगरपालिका र पार्टीले विकास निर्माणको कार्यमा हातेमालो गरी अघि बढ्नु पर्नेमा यस्ता दूषित मनसाय राखेर घटना घटाउन खेदजनक रहेको र नगर प्रमुख र उप प्रमुखको उपस्थितिमा भइरहेको विकास निर्माण कार्यमा आक्रमण हुनुले सम्पूर्ण विकास प्रेमी नगरवासीहरूको भावनामा ठेस पुगेको उल्लेख गरेको छ ।
उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कारबाही गर्न माग नगरपालिका र नेकपा माओवादी पार्टी दुवैले गरेका छन् ।
बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना सुरु गर्ने क्रममा दुई पोखरी टोलमा ढुङ्गा विच्छाउने कार्यको लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा बालकुमारी हात्तिमहाकाल सडक उपभोक्ता समिति गठन भएको थियो ।
सो कार्य सुचारु गर्नका लागि सहजीकरण गर्न कार्य स्थलमा उपस्थित भई कार्य गरिरहेको अवस्थामा हातपात भएको जनाइएको छ । हातपात गर्नेको खोजी कार्य जारी रहेकाे प्रहरीले जानकारी दिएको छ ।