सांसद रहमानको निधन

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातका कारण शनिबार निधन भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन जानुभएकी सांसद रहमानलाई अचानक छाती दुखेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको जसपाले जनाएको छ ।

जसपाको जनवर्गीय संगठनले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा सहभागी सांसद रहमान वनभोजस्थलमै मेचबाट एक्कासी ढलेर बेहोस भएपछि उपचारका लागि मध्यपुर अस्पताल थिमीमा लगिएको थियो । अस्पतालमा चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेका थिए ।

जसपाकी केन्द्रीय सदस्यसमेत रहेकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद हुनुभएको थियो । सांसद रहमानको शव मध्यपुर अस्पतालबाट कानुनी प्रक्रिया पु¥याएर लैजाने तयारी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले रहमानको निधनमा दुःख व्यक्त गर्नुभएको छ । मुलुकले एक असल सांसद गुमाएको भन्दै उहाँले परिवारजनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।