राप्रपा सरकारबाट बाहिरियो

0
Shares

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ।

राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषद्मा सहभागी राप्रपा नेताहरूले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाए । पार्टीका महामन्त्री धवलशमशेर राणले राप्रपा सरकारबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोे जानकारी दिनुभयो ।

शुक्रबार साँझ नेपाली कांग्रेससहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए पनि आगामी राष्ट्रपति निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने निर्णय भने गरिसकेको छैन ।

राप्रपाबाट मन्त्रिपरिषद्मा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष विक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्नुभएको थियो । त्यस्तै, नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्नुभएको थियो ।

राप्रपाले सरकारबाट हात झिके पनि एमालेले भने तत्काल सरकार नछाड्ने निर्णय गरेको छ ।