तेह्रथुममा भीषण आगलागी, ७ घर जलेर नष्ट

0
Shares

तेह्रथुम।

तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हात्तिखर्कमा आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । आगलागीमा धेरै क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ ।

आगलागीबाट हालसम्म ७ वटा घर जलेर नष्ट भएको चुहानडाँडा प्रहरी चौकीले जनाएको छ। आज अपराह्न गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको प्रहरीले जनाएको छ ।

आगो निभाउने कार्यमा प्रहरी र स्थानीयबासिन्दा खटिएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको छ। पानीसमेत नभएकाले स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको स्थानीयले बताएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन ।