बालुवाटारमा चार दलको बैठक जारी

0
Shares

काठमाडौँ।

पुरानो गठबन्धन ब्युँताउने प्रयासमा रहेका चार दलको बैठक बालुवाटारमा सुरु भएको छ।

राष्ट्रपति निर्वाचन बारे सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको हो।

बैठकमा माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन्।

यस्तै जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल, नेता धनश्याम भुसाललगायतका नेताहरु बैठकमा सहभागी छन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।उनीहरूबीच राष्ट्रपति निर्वाचनलगायत विषयमा करिब दुई घन्टा छलफल भएको थियो।

एमाले अध्यक्ष ओली बालुवाटारबाट निस्केपछि नेपाली कांग्रेसलगायत दलका नेताहरू बालुवाटार छलफलका लागि प्रवेश गरेका हुन् ।

आजै बिहान तीन घण्टा बसेको बैठक बेलुकी ५ बजे पुन: बस्ने गरी स्थगित भएको थियो।