सीटीइभीटीको ३५ औँ वार्षिकोत्सव

शिक्षा ऐन र निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

0
Shares

भक्तपुर ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्ध राष्ट्र निर्माणका लागि सीपयुक्त ,दक्ष र सक्षम जनशक्ति आवश्यक रहेको बताउनु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को ३५ औँ वार्षिकोत्सवको अवसरमा आज सानोठिमीमा आयोजित कार्यक्रममा उहाँले देशलाई समृद्ध बनाउनका लागि व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताउनु भयो । प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले आगामी दिनमा राष्ट्र निर्माणको लागि के कति सङ्ख्यामा कुन तह र क्षेत्रका जनशक्ति आवश्यकता पर्ने हो सो को राष्ट्रिय स्तरमा प्रक्षेपण हुनुपर्ने बताउनुभयो ।

सरकारले प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई जोड दिएको बताउँदै मन्त्री शर्माले अनौपचारिक सीप आर्जन गरेका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

देश संघीयतमा गए पनि नयाँ शिक्षा ऐन जारी हुन ढिलाइ भएको भन्दै उहाँले शिक्षा ऐन र निजामती सेवा ऐन निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो  ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्राविधिक शिक्षाका विकास एवं बिस्तारका लागि सरकार प्राथमिकताका साथ लागिरहेको बताउनु भयो।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा. संगीता सिंह लगायतले प्राविधिक शिक्षालाई ग्रामीण क्षेत्रका विद्यार्थीको पहुँचसम्म पुर्‍याउनु पर्नेमा जोड दिनुभयो ।

सीटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले सीटीइभीटीका कार्यक्रम, बजेट, नीति तथा प्रगतिका बारेमा विवरण पेस गर्नु भएको थियो ।

सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सीटीइभीटीको आवश्यकता,सुधारका योजना  र राज्यको योगदानकाबारेमा चर्चा गर्नु भएको थियो ।
सो अवसरमा उत्कृष्ट प्राविधिक शिक्षालय ,उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।