अनधिकृत प्रहरी बिट हटाइँदै

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ ।

यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी प्रहरी बिट हटाएको थियो । कामपाले बाटो र सडक ओगटेर निर्माण भएका संरचना हटाउने क्रममा विभिन्न क्षेत्रका बाटो र पेटीमा प्रहरी बिट निर्माण गरेको भेटिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो– ‘प्रहरीले कामपालाई बिनाअनुमति र बिनाजानकारी प्रहरी बिट राखेपछि हटाउने तयारी गरेका हौं ।’

कामपा प्रहरीका प्रमुख पाण्डेले केही दिनअघि प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई फोटोसहितको प्रतिवेदन हस्तान्तरण गरेको थियो । उक्त प्रतिवेदनमाथि प्रहरी प्रधान कार्यालयको राय प्राप्त भएपछि प्रहरी बिट हटाउने विषयमा निर्णय गरिने कामपा प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

कामपा प्रहरीले विशेष टोली बनाएर लामो समयको अध्ययनपछि काठमाडौंमा २० वटा प्रहरी बिटहरू अनधिकृत रूपमा निर्माण भएको र तत्काल ती बिटहरू हटाउनुपर्ने उल्लेख गर्दै प्रतिवेदन तयार गरेको थियो ।

कामपाले तयार गरेको फोटोसहितको प्रतिवेदनमा कामपा क्षेत्रभित्र सडकपेटी तथा सडकको पिचमा रहेको प्रहरी बिटहरूमा कामपा–४ वालुबाटारस्थित प्रधानमन्त्री निवास अगाडिको बिट, कामपा–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको ट्राफिक बिट, कामपा–२२ न्युरोड पिपलबोट, कामपा–२७ असन चोकमा रहेको, कामपा–२९ रुद्रमति मार्ग, कामपा–२१ लगन र कामपा २० चिकमुगलमा रहेको बिट रहेका छन् ।

त्यसै गरी कामपा–१८ ताम्सीपाखाको बिट, कामपा–१७ धोबीचौर र ढल्कोमा रहेको प्रहरी बिट, कामपा २६ सामाखुसी खोलामाथि ढलान गरेको स्थानको बिट, कामपा–१३ ताहाचलमा रहेको बिट, कामपा–१६ माछापोखरी, कामपा ३२ जडिबुटी र पेप्सीकोला चोकमा रहेको बिट, कामपा–९ सिनामंगल चोकको प्रहरी बिट, कामपा–६ बौद्ध प्रहरी वृत्त अगाडिको र चुच्चेपाटीमा रहेको प्रहरी बिटका साथै र रातोपुलको प्रहरी बिट अनधिकृत रूपमा रहेका प्रतिवेदनमा उल्लेख छ ।

कापमाले बाटोमा रहेका अन्य संरचना हटाउने क्रममा प्रहरी बिटले सडकपेटीमा समस्या पारेको गुनासो आएपछि कामपा प्रहरीले बाटो र सडकपेटी मिचेर निर्माण भएका प्रहरी बिटको खोजी गरेको थियो ।फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनुपर्छ ।

कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ । राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ ।

कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।

यस विषयमा नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोखरेलसँग जानकारी लिन खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।