चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी

0
Shares

काठमाडौं । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा विगतको चुनावी गठबन्धनका आबद्ध दलहरू एकाकार हुन थालेका छन् । वर्तमान सात दलीय सत्ता गठबन्धन दलहरूबीच राष्ट्रपति पदको विषयमा फरक मत देखिएसँगै पुराना सत्ता सहयात्रीहरू एक ठाउँमा उभिन लागेका हुन् ।

पुरानो गठबन्धन ब्युँताउनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद र जनता समाजवादीका शीर्ष नेताहरू अन्तिम तयारीमा रहेको नेताहरूले बताएका छन् । राष्ट्रपतिको उम्मेदवार टुंग्याउने अन्तिम घडीमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता निकै बढेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार चार दलबीच भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले चार दलबीच धेरै विषयमा कुरा भएको बताउँदै अब फेरि एक ठाउँमा बसेपछि सहमतिको खाका तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेस सभापति देउवासहितका नेताहरूले तत्कालीन पाँच दलीय गठबन्धनका सबै दलका नेताहरूसँग चरणबद्ध छलफलपछि विगतको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति बनाउनुपर्नेमा नेताहरूको जोड छ ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यावदसहित शीर्ष नेताहरूबीच सामूहिक र छुट्टाछुट्टै छलफल भइसकेको नेताहरूले दाबी गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले पुरानै गठबन्धन ब्युँताउने विषयमा सबै दलका शीर्ष नेताहरूसँग छलफल भएको पुष्टि गर्नुभयो । उहाँले आफ्नो दलले उपराष्ट्रपतिको दाबी गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसमेत उक्त प्रस्तावमा सहमति नजिक रहेको बताउनुभयो । ‘हामीलाई जसले उपराष्ट्रपतिमा सहयोग गर्छ त्यही गठबन्धनलाई सहयोग गर्ने भनेपछि नेताहरूले पुरानै गठबन्धनमा आवद्ध दलहरूबीच सहमति गर्नुपर्छ भन्नुभएको छ’ यादवले भन्नुभयो ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्ने निष्कर्ष निकालेको छ । संसद्को पहिलो दल कांग्रेसले प्रतिपक्षी दलहरूका साथै पार्टीको आन्तरिक छलफललाई निरन्तरता दिएको नेताहरूले बताएका छन् । छलफलमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले कांग्रेससँगको बैठकमा संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी भएको बताउनुभयो ।

सत्ता साझेदार नेकपा (एमाले)ले भने सरकार गठनका क्रममा पुस १० गते भएको समझदारीअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान लिइरहेको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटघाट जारी छ । एमाले सचिव योगेश भट्टराइले राष्ट्रपति विगतको सहमतिअनुसार एमालेले पाउनुपर्ने वा एमालेले नै प्रस्ताव गरेको अरू कुनै दलको नेतालाई समर्थन जुटाउन प्रधानमन्त्रीसँग एमालेको छलफल जारी रहेको बताउनुभयो ।