पोखराबाट अब रातमा उडान, यात्रुको व्यवस्थापनमा चुनौती

0
Shares

पोखरा। 

पोखराबाट अब रातको समयमा समेत उडान हुने भएको छ । नयाँ विमानस्थल निमार्णपश्चात सञ्चालनमा आएसँगै  अब रात्रिकालीन उठान हुने भएको हो । जनवरी १ बाट सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले दिनमा आन्तरिक उडान गर्दै आएका छन् ।

आन्तरिक उडानतर्फ बिहानदेखि सुरु भए पनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने भएतापनि रात्रिकालीन उडानपश्चात् भने विमानस्थल सञ्चालनको समय बढ्ने छ । रात्रिकालीन उडान फागुन २५ गतेबाट सुरु हुनेछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा विमानस्थलबाट रातमा समेत उडान हुने बताए । बिहीबार पोखरा महानगरपालिकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अब पोखराको पर्यटनमा नयाँ आयाम बढ्ने बताउँदै रात्रिकालीन उडान हुनेभएपनि अन्तर्राष्ट्रिय उडान हुनेमा अझै अन्यौलता भएको बताए । उनले अब संघसरकारलाई अन्तर्राष्ट्रिय उडानका लागि दबाब पोखरावासीले दिनुपर्नेमा जोड दिए । ‘अब पोखरा सबै हिसाबले तयार भइसक्यो खाली व्यवस्थापनको पाटोमा मात्रै जानुपर्नेछ । पोखरा हरेक हिसाबले सुरक्षित ठाउँ हो । अब पोखरा असुरक्षित भन्ने भ्रमलाई चिर्नुपर्छ । रातमा पनि उडान हुनेभएपछि पोखरा चलायमान हुनेछ ’ उनले भने,‘सबै हिसाबले हामी तयार छौँ तर अन्तर्राष्ट्रिय उडानका लागि भने केन्द्रको ध्यानाकर्षण गर्नुपर्ने देखियो ।’उनले विमानस्थल बने पनि पोखराको व्यस्त सडक समस्या देखिएकाले यसको पनि व्यवस्थापन गर्न लेखनाथ र पृथ्वीचोकदेखी सडक निमार्णको काम अघि बढाइने बताए ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले भने विमानमा चरा ठोक्किने कुराको ढाकछोप तर्फ लाग्दै पोखरा सुरक्षित भएको बताए । उनले विमानमा चरा ठोक्किनु नौलो कुरा नभएको भन्दै अन्तर्राष्ट्रिय स्तरमै यस्ता घटना हुँदै आइरहेको सुनाए । उनले अब चरा ठोक्किने अवस्था घटाउनका लागि नदी तथा नहरमा सिनो फाल्ने काम बन्द गर्नुपर्नेमा समेत जोड दिए । उनका अनुसार चरा जहाजमै मात्र नभई अन्य कारणले समेत मृत्यु हुने बताए । उनका अनुसार चरा स्ट्राइकका कारण, विमानको पछाडि आउने हावाका कारण र जेट ब्लाष्टको कारण समेत मृत्यु हुने बताए । यस्तो अवस्थामा विमानमा चरा ठोक्किने होइन । विमानले फाल्ने तीव्र वेगको हावाका कारण हुने घटना हो । उनले आफूहरू समेत चराको विषयमा संवेदनशील रहेको र यसका लागि नदीनाला सरसफाइमा ध्यान दिन आवश्यक रहेको सुनाए । पोखराका जानकार आनन्दराज मुल्मीले पोखराले रात्रिकालीन उडान भरे पनि यहाँ आउने पर्यटकका लागि रातको यातायात, खानपिन र वासस्थानको समस्या देखिने बताए । उनले रात्रिकालीन उडान भयो भन्दैमा खुसी भइहाल्नुपर्ने अवस्था नरहेको सुनाए । ‘पोखरामा विमानस्थल त पहिला पनि थियो । विमानस्थल नै नभएर बनाएको होइन । अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु थियो बनायो तर अन्तर्राष्ट्रिय रुपमा बन्नुपर्ने संरचना भने बनेको छैन’ उनले भने, ‘यहाँ रात्री वहान कहाँ छ ? जहाजबाट झरेर आएपछि निर्धारित स्थानसम्म जानका लागि कत्तिको सहजता छ ? जहाज झर्नु मात्रै पर्याप्तता होइन । खानाबस्नको पनि सोही अनुसारको व्यवस्थापन हुन जरुरी छ ।’

उनले विमानस्थलमै समेत बाहिरबाट हेर्दा काम सम्पन्न भएको देखिए पनि भित्रीरुपमा अझै सम्पन्न नभएको स्पष्ट पारे । उनले विमानस्थल प्रमुख विक्रम गौतमलाई विमानस्थलको गेट र भित्री संरचनाको बारेमा केही बुझ्न खोज्दा गौतमले योजनामा रहेको बताएका थिए । नेपालको एक मात्र यरोविज भएको विमानस्थलमा जेट विमान नआएसम्म चढ्न नपाउने र चढ्न नपाउन भए त्यसको कुनै औचित्य नै नरहने समेत बताए । ‘अझै केही संरचना बन्न आवश्यक छ । बाहिर जति देखियो त्यति मात्रै हो । हाम्रो यहाँ यरोव्रिज छ । त्यो चढ्न जेट विमान चाहिने रहेछ । यरोव्रिज चढ्न जेट विमान कहिले चढ्ने ।’ उनले पोखराको बारेमा दुष्प्रचार बढी हुँदा पर्यटन व्यवसायमा समेत ठूलो नोक्सानी भइरहेको बताए । नेपालले ठूला जहाज किन्ने क्रममा कमिसनको खेल खेलेको आरोप लगाउँदै भारतबाट आउने रुटका लागि नयाँ स्थानको योजना अघि सार्नै नचाहेको समेत बताए । उनले यस विषयमा युरोपियन राष्ट्रले समेत घात गरेको सुनाए । विमानस्थलले म्याचुरिटी पिरियड पार गरेसँग बुद्धले मार्च ९ गतेबाट रात्रिकालीन उडान गर्न लागेको हो । बुद्धले बेलुका ८ बजेसम्म उडान गर्नेछ  । यसअघि नागरिक उड्डयन प्राधिकरणले फेब्रुअरी २३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । सोही दिनबाट रात्रिकालीन उडान हुने प्राधिकरणले जनाए पनि अहिलेसम्म तालिका सार्वजनिक हुन सकेको थिएन ।

योसँगै रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पुग्छ । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चेक जाँच गरेर रात्रिकालीन उडान गर्न अनुमति दिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलनजिकै माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनापछि उडान हुने/नहुने अन्योल थियो । बुद्धको तालिका सार्वजनिक भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित छन् । उनीहरुले रात्रिकालीन उडान भएसँगै पर्यटनको आगमन पनि बढ्ने विश्वास व्यक्त गरे । पोखराको आकाशमा केही दिन अघिमात्रै बुद्ध एयरमा गिद्ध ठोक्किएको थियो ।