शिवशिखर सहकारीविरुद्व नेविसंघ आन्दोलनमा

0
Shares

डडेल्धुरा । पाँच वर्षमा दोब्बर भुक्तानी दिने सर्तमा डडेल्ःधुराबाट झण्डै ४१ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नचाहेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुरा आन्दोलनमा उत्रेको छ ।

४१ करोडभन्दा बढी रकम निक्षेप संकलन गरेर हालसम्म झण्डै दुई करोडमात्रै लगानी गरेको शिवशिखर बहुउद्देश्य सहकारी संस्थाले हाल रकम फिर्ता गर्नै छोडेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो । नेवि संघ डडेल्धुराले सदरमुकामस्थित बागबजारमा बुधबार शिवशिखर सहकारी संस्थाविरुद्ध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेता जगत ऐरले समाजमा व्याप्त विकृतिविरुद्व नेविसंघ सधै सक्रिय भएर लाग्दै आएको बताउनुभयो । ‘शिवशिखर सहकारी संस्थालाई जनताको लगानी सुरक्षित भएको ग्यारेन्टी गर्न यसअघि हामीले १५ दिनको अल्टिमेटम दिएका थियौं,’ उहाँले भन्नुभयो, ‘तर, कुनै पक्षबाट सुनुवाइ नभएपछि हामी बाध्य भएर आन्दोलित भएका छौं ।’

जनताबाट करोडौं रकम संकलन गरेर फिर्ता नगर्ने शिवशिखर सहकारीविरुद्व कानूनअनुसार कारबाही गर्न स्थानीय प्रशासनलाई पनि आग्रह गर्नुभयो । नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले स्थानीय प्रशासनले शिवशिखर सहकारी संस्थालाई कारबाही गरेर सर्वसधारणको निक्षेप फिर्ता दिनुपर्ने माग गर्नुभयो । ‘सर्वसधारणले मजदुरी गरेर जम्मा गरेको रकम शिवशिखर सहकारीका कारण डुब्ने खतरा छ,’ उँहाले भन्नुभयो, ‘तत्काल बचत रकम सुरक्षित भएको ग्यारेन्टी नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’

कोण सभालाई विद्यार्थी नेता भुवन ओझा र नेतृ देवकी तमोलीले पनि सम्बोधन गर्नु भएको थियो । सहकारी ऐनविपरीत देशव्यापी रुपमा शाखा सञ्चालन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले धमाधम निक्षेप संकलन गरिरहेको भए पनि बचत फिर्ता दिन नसकिने भन्दै हाल शाखा कार्यालय बन्द गरेको छ । डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गरिरहेका नागरिकले जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेको भन्दै बतच रकम फिर्ता हुनुपर्ने बचतकर्ताहरुको माग छ