पर्यटकीय गन्तव्य शंकरनगर वन विहारमा अनलाइन बुकिङ शुरू

0
Shares

बुटवल । लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ ।

यसका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमएसमार्फत अनलाइन टिकटिङ सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ । बुधबार वन बाटिकामा आयोजित एक समारोहबीच शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिले अनलाइन टिकटिङ सिस्टमको क्यूआरकोड र चारवटा स्क्यान मेशिन वन वाटिकालाई हस्तान्तरण गरेको छ ।

सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल प्रविधिको उच्चतम प्रयोगबाट नै ब्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज गर्दै जानु समयको आवश्यकता भएको बताउनुभयो ।

डिजिटिल बैकिङले नगद बोकेर हिंड्नुपर्ने झन्झटको अन्त्य र सुरक्षित पनि हुने मात्र नभई नगद पैसा छाप्दा हुने राज्यको अरबौ खर्च जोगिने भएकाले सिंगो देशलाई डिजिटलाइज बैकिङ प्रणालीमा लैजान सबैको ध्यान जानुपर्ने पौडेलले औंल्याउनुभयो ।

वनवाटिकाका अध्यक्ष वेलप्रसाद शर्माले संस्थाले तीन वर्ष अघिदेखि नै अनलाइन टिकटिङमा जाने सोंच बनाएपनि कोरोना महामारीका कारण ढिलाई भएको भन्दै अनलाइन टिकटिङ सिस्टमले संस्था प्रविधियुक्त र आर्थिक कारोबार पारदर्शी हुने बताउनु भयो ।

उहाँले वन वाटिकामा एक वर्षमा करिब साढे ३ लाख पर्यटक घुम्न आउने गरेकाले अनलाइन बैकिङले टिकट काट्न लाइनमा बस्न नपर्ने बताउनुभयो । बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले अहिलेको युग सूचना प्रविधिको भएकाले आफ्नो सेवा तथा सुविधालाई प्रविधिसँगै जोड्दै जाँदा त्यसबाट सेवा प्रदायक संस्था र सेवाग्राही र उपभोक्ता दुवैलाई सहज हुने र समयको वचत हुने बताउनुभयो ।

सो अवसरमा बैंकका ब्राण्डिङ तथा मानव संसाधन विभाग प्रमुख प्रभास राई, प्रमुख प्रविधि अधिकृत शैलेश कुमार श्रीवास्तव, र्ईसेवा क्षेत्रिय प्रबन्धक कमल सापकोटा र आइएमएसका शाखा प्रबन्धक आशिष भुसालले काठमाडौं बाहिर प्रधान कार्यालय रहेको र लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो शाखा सञ्जाल र धेरै ग्राहक भएको शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकको नीति अनुसार डिजिटल बैंकिङ साक्षरता र डिजिटल भुक्तानीलाई प्राथमिकताका साथ प्रवद्र्धन गरेको दावि गर्नु भयो ।