महन्थलाई राष्ट्रपति बनाउन लोसपाको डेलिगेसन

0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा लोसपाका नेताहरूले प्रचण्डलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् ।

राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झासमेतका नेताहरूले ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन प्रधानमन्त्री प्रचण्डसमक्ष डेलिगेसन गएका हुन् । ‘गणतन्त्र, संघीयताको पक्षमा आवाज उठाउने र १२ बुँदे सहमतिदेखि नै यस दिशामा काम गरेको मान्छे महन्थ ठाकुरजी हुनुहुन्छ’, डेलिगेसनमा बालुवाटार पुगेका नेता शरतसिंह भण्डारीले भन्नुभयो– ‘सबै पक्षबाट राष्ट्रपतिका लागि उहाँ उपयुक्त व्यक्ति हुनुहुन्छ । त्यसैले ठाकुरजीलाई राष्ट्रिय सहमतिको राष्ट्रपतिको उम्मेदवार बनाइयोस् भन्ने हाम्रो माग छ ।’

प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावमा आफू सकारात्मक रहेको जवाफ दिएको भण्डारीले बताउनुभयो । ‘तपाईंहरूले नभनेकै भए पनि मैले महन्थजीका बारेमा सोचेकै हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै भण्डारीले भन्नुभयो– ‘म सकारात्मक छु, अन्य दलसँग कुरा मिलाउनुस् ।’
लोसपाका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गर्ने बताएका छन् ।