सवारी नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ पक्राउ

0
Shares

काठमाडौं । राजधानीमा बढ्दो सवारी नियम उल्लंघनका घटना नियन्त्रण गर्न प्रहरीले जडान गरेका सीसीटिभी सहायकसिद्ध हुँदै गएका छन् ।

आर्थिक वर्षको ७ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ जना सवारी चालक सीसीटिभी फुटेजको सहायताले पक्राउ पर्न सफल भएका छन् ।

उपत्यका प्रहरी कार्यालयमा रहेको सीसीटिभी कन्ट्रोल रुमले तत्काल दिएको सूचनाका आधारमा ३ हजार २ सय ९२ जना र ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले पक्राउ गरी कारबाही गरेको जनाएको छ ।

जसमा साउन महिनामा ३ सय४१ जना, भदौमा ६ सय ८० जना, असोजमा ४ सय ८२ जना, कार्तिकमा ३ सय ६६ जना, मंसिरमा ६ सय ६२ जना, पुसमा ९ सय २५ जना, माघमा ८ सय १४ जना र फागुनमा ४४ जना चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सीसीटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारीसाधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् ।

ट्राफिक नियम उलंघन गरी फरार रहेका चालकलाई भने सीसीटिभी फुटेजका आधारमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले यातायात व्यवस्था कार्यालयबाट विवरण लिएर सवारी चालक वा धनीलाई कार्यालयमै बोलाएर कारबाही गर्दै आएको छ ।

प्रविधिमैत्री बन्दै गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन २०७४ सालबाट सीसीटिभी र २०७५ सालबाट सर्भिलेन्स भेहिकलद्वारा निगरानी गर्दै आएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।