कामपाद्वारा फोहोरबाट मल बनाउन शुरू

फेरि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गरिने

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट मल बनाउन शुरू गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले नमुनाका रूपमा पहिलो चरणमा १२ टन जैविक फोहोरबाट मल बनाउन शुरू गरेको विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।

कामपाले बानेश्वर क्षेत्रबाट ल्याएको जैविक फोहोरबाट पहिलो चरणमा मल उत्पादन शुरू गरेको हो । मल बन्न कम्तीमा पनि दुई महिना लाग्ने अनुमान गरिएको छ । महानगरले सफलतापूर्वक फोहोर उत्पादन गरे सबै वडामा यही विधि लागु गरी फोहोरबाट मल उत्पादन गर्ने तयारी गरेको छ । विभाग प्रमुख श्रेष्ठले भन्नुभयो– ‘केही स्वयंसेवकको समूहले मल बनाउन शुरू गरेको छ । सो समूहले प्रयोग गरेको टेक्नोलोजी सफल भएमा कामपाले व्यावसायिक रूपमै मल उत्पादन गर्ने तयारी गरेको छ ।’ उहाँका अनुसार महानगरले हरेक वडामा फोहोरबाट मल बनाउने तालिम सञ्चालन गरी घरघरमै मल उत्पादन गर्ने योजना अघि बढाइनेछ ।

यसैबीच महानगरले साउन १ गतेदेखि लागु गर्ने भने तापनि हालसम्म कार्यान्वयन हुन नसकेको घरघरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने विधि फेरि लागु गरेको छ । कामपाले जैविक (कुहिने) फोहोरबाट मल बनाउन र अजैविक फोहोर (नकुहिने) मात्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने गरी फेरि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन शुरू गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागले सो व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । फोहोर नछुट्याए तत्काल ५ सय रुपियाँ जरिवाना गर्ने व्यवस्था गरेको छ ।

फोहोर बोक्ने गाडी बिहान ६ देखि ८ बजेसम्म घरघरमा पुग्ने गरी व्यवस्था गरिएको विभागीय प्रमुख श्रेष्ठको भनाइ छ । त्यस्तै, फोहोरमैला संकलन र ढुवानी गर्ने निजी कम्पनीलाई पछि सोहीअनुसार फोहोर संकलन र ढुवानी गर्न आग्रह गरेको विभागको भनाइ छ ।

कामपाले ३२ वटा वडालाई दुई भागमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने जनाएको छ । कामपाले एउटा वडामा आइतबार र बुधबार कुहिने, सोमबार र मंगलबार नकुहिने फोहोर संकलन गर्ने, त्यस्तै अर्को वडामा सोमबार र बिहीबार कुहिने, बुधबार र शुक्रबार नकुहिने फोहोर संकलन गर्ने समय तय गरेको छ ।

यसअघि सो योजना पटकपटक लागु गरेर कार्यान्व्यन गर्न नसकेपछि आलोचना खेपेको महानगरले अब कुनै पनि अवस्थामा फोहोर वर्गीकरणलाई निरन्तरता दिने जनाएको छ । विभागीय प्रमुख श्रेष्ठको भनाइ छ– ‘फोहोरबाट मल बनाउन शुरू गरेपछि सबैलाई बारअनुसार कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न आग्रह गरेका छौं ।’