राष्ट्रपति निर्वाचन : फागुन १० गते मतदाता नामावली स्वीकृत गरिने

0
Shares

काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन लागि निर्वाचन आयोगले तीव्र गतिमा तयारी अघि बढाएको छ ।

निर्वाचन कार्यतालिकाको पहिलो सूचीअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने दिन नजिकि“दै गएसँगै तयारी अघि बढाइएको हो । आयोगका अनुसार फागुन १० गते बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली स्वीकृत गर्ने कार्यक्रम रहेको छ । सोही दिन १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर निवेदन तथा उजुरी दिने र छानबिन गर्ने र फागुन १२ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरू रहेको निर्वाचन मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्नेछ । अहिले प्रतिनिधिसभामा कुल २ सय ७५ सदस्य र राष्ट्रियसभामा कुल ५९ सदस्य गरी संघीय संसद्मा जम्मा ३ सय ३४ सदस्य छन् । त्यस्तै, सातवटा प्रदेशसभामा गरी कुल ५ सय ५० जना सदस्य छन् ।

यसैबीच मतदाता नामावलीसंगै स्वीकृत निर्वाचन कार्यतालिकाअनुरूप कार्यक्रम अघि बढाउन आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । निर्वाचन अधिकृतले आयोगको निर्देशनको अधीनमा रही निर्वाचन गराउने छ । निर्वाचन अधिकृतले मतदान अधिकृत, सहायक मतदान अधिकृत तोक्ने, मनोनयनपत्र जा“च्ने, मनोनयन पत्र सदर वा बदर गर्ने र मतगणनाको अन्तिम परिणाम घोषणा गर्नेलगायतका कार्यहरू गर्ने छ । मतदान स्थल नया“ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई बनाइने आयोगले जनाएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा नेपालको कुल जनसंख्याको विषय पनि जोडिएको पाइएको छ । राष्ट्रपति निर्वाचन ऐन २०७४ बमोजिम संघीय सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरिएको छ ।

२०६८ सालको नेपालको कुल जनसंख्याको आधारमा यो मतभार कायम गरिएको हो । नेपालको पछिल्लो कुल जनसंख्यालाई संघीय संसद्का सदस्यको कुल सङ्ख्याले भाग गर्दा आउने भागफललाई फेरि १ हजार अंकले भाग गर्दा आउने भागफल नै मतभार हुन जान्छ ।

त्यस्तै, प्रदेशसभातर्फका कुल सदस्य संङ्ख्याले नेपालको पछिल्लो जनसंख्यालाई भाग गर्दा आउने भागफललाई फेरि १ हजार अंकले भाग गर्दा प्रदेश सभातर्फको मतभार कायम हुने जाने राष्ट्रपति निर्वाचन ऐनमा २०७४ मा उल्लेख गरिएको छ ।

फागुन २५ गते हुने निर्वाचन अगावै २०७८ सालको जनगणनाको नतिजाका औपचारिक रूपमा आयो भने मतभार परिर्वतन हुन सक्ने जनाउ“दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो– ‘नया“ जनगणनाको अन्तिम नतिजा औपचारिक रूपमा आयो भने मतभार परिवर्तन हुन सक्छ ।’

निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदात हुनेछ । त्यसमा कुल मतको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लि∙ वा समुदायको हुनुपर्ने व्यवस्था रहेकाले राष्ट्रपतिको निर्वाचन सकिएपछि मात्र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । उपराष्ट्रपतिको निर्वाचन पनि यही चैत्र ३ गते राष्ट्रपति निर्वाचनकै प्रक्रियाअनुसार हुनेछ ।