राष्ट्रपतिको उम्मेदवार चयनमा ढिलाइ

0
Shares

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सहमतीय राष्ट्रपतिको एजेन्डा अघि सारेपछि दलहरूले उम्मेदवार चयनमा ढिलाइ गरेका छन् ।

सत्ता साझेदार दल नेकपा (एमाले) ले गठबन्धन दलहरूबीचको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबीसहित माओवादीको समर्थन पाउने बताए पनि माओवादी केन्द्रले अहिलेसम्म राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने निर्णय गरेको छैन । भावी राष्ट्रपतिमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको ठूलो दल एमालेको दाबी छ ।

राष्ट्रपति चुनावको ‘निर्णायक’ तहमा रहेको माओवादी पछिल्लो समयमा कांग्रेसको पक्षमा खुल्ने तयारीमा रहेको नेताहरूको बुझाइ छ । उक्त दलले राष्ट्रिय सहमतिको अडान कायमै राखेकोले एमालेका उम्मेदवारले राष्ट्रपति पाउने सम्भावना न्यून हुँदै गएको कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताउनुभयो । उहाँले राष्ट्रपति कांग्रेसले समर्थन गरेकै व्यक्ति हुने बताउँदै भन्नुभयो–‘राष्ट्रपति संविधानभित्र रहेर लोकतन्त्र र देशको सार्वभौमिकतालाई बचाउने व्यक्ति चाहिन्छ । त्यो एमालेका नेताहरूबाट सम्भव छैन । फेरि संविधान र लोकतन्त्रमाथि ‘कु’ हुन सक्छ । त्यसैमा गठबन्धन दलहरूबीच विवाद छ । माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपालगायतका दलहरूको सहमतिमा कांग्रेसको उम्मेदवार राष्ट्रपति हुन्छ ।’ यद्यपि, उहाँले कांग्रेसले उम्मेदवारको निर्णय गरिनसकेको बताउनुभयो । राष्ट्रपति बन्नका लागि कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाको नाम चर्चामा छ । यीभन्दा बाहेकका उम्मेदवार समेत हुनसक्ने नेताहरूले बताएका छन् ।

एमालेका नेता विशाल भट्टराईले सरकार गठनको समयमा भएको समझदारीअनुसार राष्ट्रपतिमा सहयोग नपाए त्यसलाई राजनीतिक ‘धोका’ र बेइमानी मान्ने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘एमालेलाई राष्ट्रपति नदिन र वर्तमान सत्ता गठबनधन तोड्नका लागि विभिन्न शक्तिहरूको चलखेल गरिहरेका छन् । गठबन्धन दलहरूबीचको सहमति कार्यान्वयन गर्न नदिने र गठबन्धनलाई नै ध्वस्त पर्ने खेलहरू भित्रीबाहिरी रूपमा भइरहेका छन् । यसमा एमाले सचेत छ । माओवादी सबैभन्दा बढी जिम्मेवार र सचेत हुनु जरुरी छ ।’ माओवादीले एमालेलाई धोका दिने रणनीति अपनाउनु उसैका लागि पनि खतरनाक रहेको भट्टराईले बताउनुभयो । एमालेले पनि राष्ट्रपतिको उम्मेदवारका विषयमा निर्णय भने गरिनसकेको भट्टराइले जानकारी दिनुभयो । पार्टीभित्र अहिलेसम्म उम्मेदवारबारे प्रारम्भिक छलफलसमेत नभएको नेताहरूले बताएका छन् ।

मनोनयनको अन्तिम चरणमा उम्मेदवार टुंगो लगाएर मनोनयन दर्ता गर्ने एमालेको आन्तरिक तयारी छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको उम्मेदवारबारे एमालेभित्र अहिलेसम्म कुनै छलफल नभएको जानकारी दिँदै भन्नुभयो– ‘केही व्यक्तिहरूको नाम मिडियामा चर्चामा आएका छन् । तर, हामीले त्यसबारेमा कुनै छलफल गरेका छैनौं । एक–दुई दिनमा त्यसमा छलफल होला ।’ यसअघि सभामुख चयन गर्दा पार्टी अध्यक्ष ओलीले एकल निर्णय गरेको भन्दै पार्टीभित्र असन्तुष्टिसमेत देखिएको छ । पार्टी सामूहिक नेतृत्वमा चलेको भए पनि एमालेभित्र अध्यक्ष ओलीले तजबिजी अभ्यास गर्दै आएका कारण राष्ट्रपतिको उम्मेदवारका सवालमा पनि ओलीकै एकल निर्णय लागू हुने आशंका एमाले नेताहरूले गरेका छन् ।

राष्ट्रपतिका लागि कसलाई अघि सार्ने भन्ने विषयमा एमालेभित्र सभामुखजस्तै गरी अध्यक्षले एकल निर्णय गरे मान्य नहुने एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमालेले उठाउने उम्मेदवार सभामुखजस्तै गरी पार्टीमा छलफल नगरी ल्याए मान्य हुँदैन । पार्टीभित्र छलफल गरेर संस्थागत निर्णय गर्नुपर्छ ।’

एमालेभित्र राष्ट्रपतिको उम्मेदवारका लागि ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा, रामबहादुर थापा बादल, युवराज ज्ञवाली, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेललगायतको नाम चर्चामा छ । तर, गठबन्धन दलभित्र कुरा मिलेको खण्डमा ओलीले अघि सार्ने पात्र को हुन् ? भन्ने नेताहरूले अझै पत्तो पाएका छैनन् । आइतबार एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ दिने विश्वास व्यक्त गर्दै मनोनयनको अन्तिम दिनमा मात्रै उम्मेदवार टुंगो लगाउने संकेत गर्नुभएको छ ।

आइतबार प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति निर्वाचनतर्फ लक्षित गर्दै बृहत्तर राष्ट्रिय सहमतिको आवश्यकता औंल्याउनुभएको छ ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलहरूले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने अध्यक्ष प्रचण्डले बताउनु भएको जिकिर गर्दै भन्नुभयो–‘संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्छ । राष्ट्रियताको रक्षाका लागि राष्ट्रपति साझा बनाउन पर्छ ।’ उहाँले जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरूको अडान रहेको दोहो¥याउनुभयो । सत्ता पक्ष र विपक्षको रूपमा परिकल्पना गरिएको प्रधानमन्त्री पदमा समेत सहमति भएको बताउँदै उहाँले राष्ट्रपति पनि राष्ट्रिय सहमतिकै आधारमा चयन हुने बताउनुभयो ।

एमालेले साथ छाडे पाँचै वर्ष प्रधानमन्त्री दिने आश्वासनसहित कांग्रेस प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने रणनीतिमा छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेका नेताहरूसँग समानान्तर संवाद गरिरहनुभएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते मनोनयन हुँदै छ ।