मेथिन्कोटमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम

‘बागमती सरकारले स्वास्थ्य नीति बनाउँदै’- मन्त्री श्रेष्ठ

0
Shares

काभ्रे।

काभ्रेको मेथिन्कोट अस्पतालमा नसर्ने रोग सम्बन्धी मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ भएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले एक कार्यक्रमकाबीच अस्पतालमा उक्त सेवा प्रारम्भ भएको घोषणा गर्नु भएको थियो ।

चिकित्सकद्वारा नसर्ने रोग सम्बन्धी इतिहास र शारीरिक जाँच, दम खोकीको लागि क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाई, रक्तचाप नाप, महिलाको लागि भिआईए जाँच निःशुल्क हुनेछ । त्यस्तै श्वासप्रश्वास, उच्च रक्तचाप, सुगर लगायतको परीक्षण पनि निःशुल्क हुनेछ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा २ हजार २ सय रुपैयाँमा निःशुल्क बाहेकका पिसाब, दिशा, रगत, मिर्गौला, कलेजो, लिपिड प्रोफाईल, फोक्सो, छातीको एक्सरे, ईसिजी र युयसजी परीक्षण हुनेछ । स्वास्थ्य उपचारमा सहभागी हुन नसक्ने नागरिकहरुका लागि बागमती प्रदेश सरकारले निःशुल्क बिमाको व्यवस्था गरेको मन्त्री रामेश्वर श्रेष्ठले बताउनु भयो । स्थानीय सरकारको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सिमान्तकृन्त र आश्रित नागरिकलाई बागमती प्रदेश सरकारले न:शुल्क स्वास्थ्य सेवा बीमा मार्फत उपलब्ध गराउने मन्त्री श्रेष्ठले बताउनु भयो ।

मेथिन्कोट अस्पतालले प्रदान गरेको सेवा र समस्याका बारेमा जानकारी गराउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुरुषोत्तम सेढाईले सेवा विस्तारले नागरिकहरु खुशी हुँदै गएको तर भौतिक पूर्वाधार तथा जनशक्ति अनुसारको उपकरण नहुँदा समस्या भएको बताउनु भएको थियो । मन्त्री श्रेष्ठले जनशक्ति अभावका कारण सेवा नरोकिने प्रतिबद्धता व्यक्त गर्नु भयो । नागरिकहरुको सेवाका लागि आवश्यकता अनुसार जनशक्ति, जनशक्ति अनुसारको उपकरण खरिद गरिने बताउनु भयो । त्यसका लागि प्रदेश सरकारले चालु वर्ष भित्र सम्पन्न गर्ने गरी प्रदेश भित्रको स्वास्थ्य नीति तयार गर्ने, जनशक्तिको ओएनएम सर्भे तयारी गर्ने र प्रदेश भित्रका सबै अस्पतालमा पूर्वाधार अनुसारको जनशक्ति र उपकरण व्यवस्था गर्ने बताउनु भयो ।

मन्त्री श्रेष्ठले नर्सेने रोगको महामारी फैलन थालेको यसको नियन्त्रण र सचेतनाका लागि मुख्य मन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको बताउनु भयो । यो हरेक साताको एक पटक हुनेछ । यसलाई विस्तारै वृद्धि गर्दै लैजाने सरकारको योजना रहेको छ ।

सरकारले घरमा बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकहरुको उपचार सेवाका लागि घरघरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्था मार्फत जनशक्ति व्यवस्थापन गर्न लागिएको बताउनु भयो । त्यस्तै नसर्ने रोगका बारेमा तथ्याङ्क संकलन सोही अनुसार गर्ने गरी तीन तहकै सरकारसँगको समन्वयमा काम गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लाको अस्पतालमा गुणस्तर सुधार र सबै नागरिकहरुले सहज सेवा पाउने गरी विस्तार गर्नु पर्ने बताउनु भयो । राजमार्गमा रहेको अस्पताल विपद्को समयमा झनै प्रभावकारी बन्नु पर्ने उहाँले बताउनु भयो ।

अध्यक्ष कृष्णप्रसाद खनालले अस्पतालका लागि शुरु गरिएको जग्गा व्यवस्थापन कार्य तत्काल सम्पन्न गरी भवन निर्माण गर्नु पर्ने बताउनु भयो ।

सरकारले अस्पतालका लागि ३ करोड रुपैयाँ चालु वर्षमा भवन निर्माणका लागि विनियोजन गरेको छ ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले सरकारले फागुन मसान्त भित्र चालु खर्च ६० प्रतिशत र पुँजीगत खर्च शतप्रतिशत सम्पन्न गर्न निर्देशन दिनु भयो । अस्पतालका प्रमुख डा. पुडासैनीले नागरिकलाई दिने सेवा र मन्त्रालयको निर्देशन दुबैलाई ध्यान दिँदै अघि बढिरहेको बताउनु भयो ।

अस्पतालले मानसिक स्वास्थ्य लगायतका अन्य सेवालाई प्रभावकारी पार्दै लगेको छ । अस्पतालले डाईलोसिस सेवा प्रारम्भका लागि पूर्वाधारको व्यवस्थापन गरिरहेको छ । अन्य सेवालाई पनि निरन्तरता दिएको अस्पतालका प्रमुख डा.पुडासैनीले जानकारी दिनुभयो ।

अस्पतालमा दक्ष जनशक्ति उपलब्ध छन् । आकस्मिक सेवा, अप्रेसन तथा अन्य सेवा २४ सै घण्टा उपलब्ध छन् ।