‘प्रचण्ड’ मनाउन ओलीलाई धौधौ

0
Shares

काठमाडौं । सत्ता साझेदारको प्रमुख शक्ति नेकपा एमालेले बालकोट बोलाएर प्रधानमन्त्री बनाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन निकै सकस देखिएको छ । राष्ट्रपति निर्वाचनका लागि साँझ सहमतिको एजेन्डा लिएका प्रधानमन्त्री प्रचण्डलाई मनाएर राष्ट्रपति हात पार्न एमाले अध्यक्ष केपी ओलीलाई सकस परेको हो ।

बिहीबार अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई बीसौंपटक भेट गर्नुभयो । उहाँले सरकार गठन (पुस १०)यता सरकार सञ्चालन र राष्ट्रपतिको निर्वाचनका विषयमा प्रचण्डलाई २० पटक भेट गरिसक्नुभएको एमाले ओली निकट स्रोतले पुष्टि गरेको छ । राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच पछिल्लोपटक बिहीबार बालुवाटारमा करिब २ घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरि तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘पछिल्लोपटक दुई नेताहरूबीच लामो संवाद भएको छ । करिब दुई घण्टा भएको भेटमा फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनका दुई शीर्ष नेताहरूबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । यद्यपि, उहाँहरूबीच राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित भए पनि ठोस निर्णयमा भने पुग्न नसकेको बताइएको छ । सरकार गठन भएको सात हप्तामा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई बिसपटक भेटिसक्नुभएको छ । बिहीबारको भेटमा ओलीले सत्ता गठबन्धन दलका नेताहरूबीच बसेर गरिएको पूर्वसहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्री ‘प्रचण्ड’लाई आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसका लागि छलफल गरेर अघि बढ्दा राम्रो हुने बताउनुभएको थियो ।

सत्ता गठबन्धन भत्काउन विभिन्न खेलहरू भइरहेको कुरा आफूलाई जानकारी भएको भन्दै प्रचण्डले त्यसलाई रोक्न एमालेले साथ दिनुपर्ने बताउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताउनुभयो । उहाँले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘षड्यन्त्रहरू भइरहेका छन् । त्यसमा म आफू सचेत छु । तर, यसमा एमालेले पनि मलाई पूर्ण सहयोग गर्नुपर्छ ।’ उक्त छलफलमा दुवै नेताहरू आआफ्नो अडानबाट पछि नहटेको गजुरेलले जानकारी दिनुभयो । ‘प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरौँ भन्नुहुन्छ भने एमाले अध्यक्ष केपी ओलीजी राष्ट्रपति एमालेले पाउनुपर्ने भनिरहनुभएको छ’, गजुरेलले थप्नुभयो– ‘दुवै जना आ–आफ्ना अडानमा भए पनि अन्ततः दुवै जना सहमतिमा पुग्नुहुन्छ ।’ एमालेसँग सहमति भए पनि नभए पनि माओवादी केन्द्रले राष्ट्रपतिबारेमा आधिकारिक निर्णय गरेर अघि बढ्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको कुरा सुनेपछि अध्यक्ष ओलीले राष्ट्रपतिमा पुस १० मा भएको सहमति स्मरण गराउँदै त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने अडान राख्नुभएको थियो । ‘हाम्रा अध्यक्षले शुरूको राजनीतिक सहमतिअनुसार अघि बढ्न आग्रह गर्नुभएको जानकारीमा आएको छ ।’ छलफलमा भएको ओलीको भनाइ उद्धृत गर्दै ओली निकट मानिएका एमाले नेता विशाल भट्टराईले भन्नुभयो– ‘त्यस बेलाको सहमतिअनुसार राष्ट्रपतिमा एमालेको दाबी रहिरहन्छ । त्यसका लागि माओवादीले वातावरण तयार गर्नुपर्छ ।’ प्रधानमन्त्रीसँग यही कुरा भएर बालुवाटारबाट अध्यक्ष ओली फर्कनुभएको उहाँको भनाइ छ ।

प्रचण्डलाई आफूअनुकूल बनाउन अध्यक्ष ओलीले निकै पापड बेल्नुपरेको एमालेका नेताहरू बताउँछन् । अध्यक्ष ओली नै पछिल्लो समयमा गठबन्धन भत्काउन र सत्ता समीकरण हेरफेर गर्न विभिन्न बाहिरी भित्री चलखेल भइरहेको बताउँदै हिँड्नुभएको छ । उहाँले कांग्रेसप्रति लक्षित गर्दै मुलुकमा अस्थिरता फैलाउने किसिमका गतिविधि भइरहेको अभिव्यक्ति दिँदै आउनुभएको छ । फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि फागुन १३ गते उम्मेदवारी दिने निर्वाचन कार्यतालिका छ । पछिल्ला दिनमा राष्ट्रपतिको विषयलाई लिएर माओवादी केन्द्र र एमालेबीच दूरी बढ्दै गएको छ । गत पुस १० मा बालकोटमा प्रचण्ड प्रधानमन्त्री हुने र राष्ट्रपति एमालेले लिने, सभामुख आधा–आधा कार्यकाल लिने मुख्य सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन् । जसअनुरूप एमालेबाट देवराज घिमिरे सभामुख भइसकेको र अब राष्ट्रपतिका विषयमा भएको सम्झौता कार्यान्वयन हुनुपर्ने एमाले नेता भट्टराईको दाबी छ ।

तर, माओवादीले भने प्रधानमन्त्रीले विश्वासको मत कांग्रेससहितका दलबाट लिएको भन्दै राजनीतिक कोर्स फेरिएको बताएका छन् । पुस २६ गते कांग्रेससहित २ सय ६७ सांसदबाट विश्वासको मत पाएपछि प्रचण्डको सबै दलहरूलाई सँगै लैजान अभ्यासमा रहेको नेकपा माओवादीका सचिव राम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर सरकारलाई विश्वासको मत दिएका सबै दलहरूलाई सँगै लान चाहेकोे छ । हामी सबै दलहरूसँग छलफल गर्दै छौं, राष्ट्रपतिका बारेमा केही दिनमा निर्णय लिन्छौं ।’

राष्ट्रपतिकै विषयलाई लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग समेत बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएको छ । पछिल्लो समयमा नेकपा माओवादी केन्द्र सत्ता गठबन्धन कायम राख्दै कांग्रेसप्रति लचिलो बन्ने अपनाएको छ । केही दिनअघि प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतका नेताहरूले भेटेर माओवादी केन्द्रसँगको सहमतिमा कांग्रेसले राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउने बताएका थिए ।