काभ्रेको बेथान्चोक दुर्घटनाका पीडितलाई बीमा बापतको ८५ लाख भुक्तानी

14
Shares

काभ्रे।

बेथान्चोक गाउँपालिकाको वडा नम्बर ४ स्थित गणेशस्थानमा मसिंर २७ गते भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाउने १७ जनाका आफन्तलाई जिल्ला प्रशासन कार्यालय मार्फत युनाईटेड इन्स्युरेन्सले एकमुस्ट रकम ८५ लाख हस्तान्तरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई बीमा कम्पनीका कार्यकारी प्रमुख नवीन सुवेदीका तर्फबाट एकमुष्ट ८५ लाख रकम हस्तान्तरण गरिएको थियो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, बिमा कम्पनीका डेपुटी जनरल मेनेजर विनोद कसपाल, बनेपा शाखा प्रमुख जितलाल श्रेष्ठ, पुण्यवती यातायात प्रालीका अध्यक्ष राजेशसुन्दर सैँजु, कार्यालय प्रमुख शुभराज जोशी लगायतको सहभागिता रहेको थियो ।

बेथान्चोक गाउँपालिकाको च्यासिङ्गखर्कबाट पनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा चालक सहित १७ जनाको निधन भएको थियो । बिमा बापत प्राप्त रकमलाई मृतकका आफन्तको खातामा पठाइने सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

काभ्रे पुण्यवती यातायात प्रालीले बिमा बापतको रकम दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तलाई उपलब्ध गराउन र दुर्घटनामा तत्काल उद्धार, उपचार र व्यवस्थापनमा खटिनेहरुलाई धन्यवाद दिएको छ ।

अध्यक्ष राजेश सुन्दर सैंजुले उक्त दुर्घटनाका घाइते मध्ये ३ जनाको अझै उपचार भइरहेको बताउनु भयो । मेडिसिटी अस्पतालमा ३५ लाख तथा धुलिखेल र बनेपाको शिर मेमोरियल अस्पतालमा उपचार बापतको रकम तिर्न बाँकी रहेको उहाँले बताउनु भयो ।

समन्वय प्रमुख दिपक गौतमले दुर्घटना न्यूनीकरण तथा सचेतिकरणका लागि प्रयास भइरहेको बताउनु भयो । यातायात समिति मार्फत चालक सह चालकहरुलाई प्रशिक्षण गर्दै दुर्घटना न्यूनीकरण गर्ने अभियान सुरु गर्न प्रमुख गौतमले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सवारी दुर्घटना न्यूनीकरण भन्दा शु्न्यकरण तर्फ उन्मुख गराउनु पर्ने बताउनु भयो । दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तलाई बीमा बापत प्राप्त रकम हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

चालक रिसाउँदा स्पिड बस नियन्त्रण हुन नसक्दा दुर्घटना भएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको छानबिन समितिले निष्कर्ष निकालेको थियो ।