पाठ्यपुस्तक उत्पादनको दैनिक विवरण उपलब्ध गराउन प्रम कार्यालयको निर्देशन

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी २०८० वैशाख २ गतेभित्र पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार भएको बैठकमा प्रमका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले वैशाख २ गते विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिनुभएको छ । बैठकमा उहाँले पाठ्यपुस्तक उत्पादन भएको दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

प्रम कार्यालयका प्रशासन र नतिजा व्यवस्थापन शाखाका सचिव डा. गणेशप्रसाद पाण्डेले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव रामकृष्ण सुवेदी, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झालगायतको उपस्थिति रहेको बैठकमा प्रम कार्यालयले कुनै पनि बहानामा पाठ्यपुस्तक पुर्‍याउने काममा बिलम्ब नगर्न निर्देशन दिइएको छ । प्रम कार्यालयका सचिव डा. पाण्डेले हालसम्म छपाइ पूरा भएको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

मुख्य सल्लाहकार गजुरेलले पाठ्यपुस्तक छपाइ गर्ने कागज नभएर वा मेसिन सञ्चालन नभएर पाठ्यपुस्तक पुग्न नसकेको लगायतका कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो–‘कुनै पनि हालतमा वैशाख २ गतेभित्र पाठ्यपुस्तक पुग्नैपर्छ ।’
बैठकमा प्रम कार्यालयका सचिव डा.पाण्डेले सबै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउन सबै तयारी गर्न निर्देशन दिनुभएको थियो । उहाँले कुनै पनि वहानामा पाठ्यपुस्तक पुग्न नसकेको गुनासो आउन नहुने उल्लेख गर्नुभयो ।

बैठकमा बोल्दै शिक्षा सचिव सुवेदीले विगतको तुलानमा छपाइको प्रगति भइरहेको बताउनुभएको थियो । जनक शिक्षाका अध्यक्षसमेत रहनुभएका सचिव सुवेदीले शैक्षिकसत्र शुरू भएसँगै वैशाख २ गतेबाट पाठ्यपुस्तक पुर्‍याउनेगरी सबै तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– अब कागजको अभाव छैन, २४ सै घण्टा मेसिन सञ्चालन गरी पुस्तक छपाइ गरिरहेका छौं ।

बैठकमा जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले केन्द्रले चैत मसान्तभित्र सबै क्षेत्रीय कार्यालयमा पाठ्यपुस्तक पुर्‍याइसक्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘केन्द्रमा समस्या छैन, तोकेको समयमा पुस्तक पुर्‍याउनेछांै ।’ बैठकमा उहाँले प्रम कार्यालयको निर्देशनअनुसार दैनिक विवरण पठाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रधानमन्त्री दाहालले पदभार ग्रहण गर्नुभएपछि जारी न्यूनतम साझा कार्यक्रमको बुँदानम्बर २६ मा निर्देशन दिएअनुसार मन्त्रालयले प्रम कार्यालयमा चैत मसान्तभित्र पाठ्यपुस्तक पुर्‍याउने गरी कार्ययोजना बुझाएको छ ।

जसअनुसार पाठ्यपुस्तक खरिद गर्न समयमै बजेट उपलब्ध गराउने, पाठ्यक्रम विकास केन्द्रले प्रिन्ट रेडी कपी समयमै तयार गरी केन्द्रलाई उपलब्ध गराउने, जनक शिक्षाले पाठ्यपुस्तक छपाई एवं बिक्रेतालाई वितरण गरी सोको अनुगमन गर्ने, भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने कार्ययोजना बुझाएको छ ।
सो कार्ययोजनाअनुसार सबै सरोकारवाला निकायले काम गरिरहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले तोकिएकै समयमा पुस्तक पुर्‍याउने गरी तयारी भइरहेको बताउनुभयो । त्यसका लागि जनक शिक्षा र पाठ्यक्रम विकास केन्द्रले द्रुत गतिमा काम गरिरहेको बताउनुभयो ।
आगामी शैक्षिक सत्रमा झण्डै २ करोड २५ लाख थान पाठ्यपुस्तक छपाइ गर्न करिब ८ हजार टन कागज आवश्यक पर्छ । केन्द्रले हालसम्म करिब ६५ लाख थान पुस्तक तयारी गरिसकेको छ । सरकारले शैक्षिक सत्र २०८० को लागि ३ अर्ब ४० करोड रुपियाँ बजेट व्यवस्था गरेको छ ।

‘पाठ्यपुस्तक खरिद गर्न सबै स्थानीय तहमार्फत विद्यालयमा रकम निकासा भइसकेको छ’– शिक्षा तथा मावन स्रोत विकास केन्द्रका महानिर्देशक पौडेलले भन्नुभयो । हाल जनकले कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ गरिरहेको छ ।