केन्द्र र प्रदेश जोड्न बेथान्चोकमा पक्कि सडक शिल्यान्यास

0
Shares

काभ्रे ।
गाउँपालिकाले प्राप्त गर्ने विभिन्न श्रोतबाट बार्षिक ५ किलोमिटर सडक पक्कि गर्ने गाउँपालिका अध्यक्षको पहिलो निर्णयलाई नीति तथा कार्यक्रम, बजेटमा समेत समावेश गरेर चालु वर्ष भित्रै सम्पन्न हुने गरी बेथान्चोकको गौरवको आयोजना पाटीखर्क चलाल गणेस्थान आलुबारी पाटी मुसीखोल्सा सडक कालोपत्रेको शिल्यान्यास गरिएको छ ।

‘बेथान्चोक गाउँपालिका प्रवेश गरे लगत्तै नागरिकहरुले कालोपत्रे सडकमा यात्रा गर्न पाउनेछन्’– गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भन्नुभयो–‘५ वर्षमा २५ किलोमिटर सडक विभिन्न निकायको सहयोगमा निर्माण गरिनेछ ।

पहिलो वर्ष आफ्नै श्रोतको ९ करोड रकम विनियोजन गरेर ५ किमी सडक कालोपत्रे गर्न लागिएको हो ।’ पनौती देखि बेथान्चोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको सडक हिउँदमा धुलाम्मे छ ।

वर्षातको समयमा हिलाम्मे हुन्छ । नगरपालिका र गाउँपालिकाको समन्वयमा खरिद गरिएको पानी राख्ने ट्यांकरले नियमित पानी राख्ने गरे पनि पनौती देखि बेथान्चोकको सिमा पुग्ने सडकका कारण यात्रुहरुले सास्ति ब्यहोरिरहेका छन् ।

सिमानामा बेथान्चोक गाउँपालिकाले बुधबार सडक शिल्यान्यास गर्दै पनौती नगरपालिकालाई पनि आफ्नै श्रोतमा सडक कालोपत्रे गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।  ‘हामी सडक निर्माण मात्रै नभई अन्य केहि महत्वपूर्ण आयोजनाहरु आफैले शुरुवात गर्न सक्ने गरी सन्देश दिदैछौं’–गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भन्नुभयो–‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सँगै टनेल अथार्त सुरुङ्ग मार्ग पनि बेथान्चोकमै निर्माण हुनेछ ।’

शिल्यान्यास गरिएको सडक ३.७ किमी लामो छ । जस मध्ये २ किलो ५ सय मिटर २५ एमएमको आसपास पिच हुनेछ । ६ स्थानमा ११ सय ८५ मिटर लामो पक्कि ढलान हुनेछ ।

बेथान्चोक गाउँपालिकाको मुख्य सडक मानिएको उक्त सडक संघको राजधानी काठमाडौ देखि प्रदेशको राजधानी हेटौडासम्म जोड्ने छ । बेथान्चोकबाट फापरबारीको दुरी ४८ किलोमिटर मात्रै छ ।

बनेपाबाट बेथान्चोक २० किलोमिटर छ ।  धरान चत्तरा सडकसँग जोडिने उक्त सडक फापरबारीसम्म पक्कि बनाउने उदेश्यले गाउँपालिकाले ललितपुरको बागमति, मकवानपुरको महाहाँकाल र बागमती गाउँपालिकासँग छलफल गरेको छ ।

चारवटै गाउँपालिकाले आफ्नो सिमाना क्षेत्र भित्रको सडकको डिपिआर गर्ने र संघ सरकारलाई सडक निर्माणका लागि अनुरोध गर्ने निर्णय अनुरुप बेथान्चोक गाउँपालिकाले उक्त कार्य सम्पन्न गरिसकेको अध्यक्ष भगवान अधिकारीले बताउनु भयो ।

शिल्यान्यास गरिएको सडक निर्माणको जिम्मेवारी पनौतीको जोशी जी÷घिसिङ्ग जेभी कम्पनीले ५ करोड ५० लाख ४ हजार ९ सय ३१ रुपैयामा पाएको छ । २०७९ पुष ११ गते सम्झौता भई २०८० जेठ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने उक्त सडकको गुणस्तरमा कमी नहुने निर्माण कम्पनीका प्रोपाईटर विष्णुहरी जोशीले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नम्वर १ र २ जोड्ने महत्वपूर्ण मार्ग सुरुङ्ग निर्माणको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयसँग सम्झौता गर्ने तयारी भएको छ ।

वडा नम्वर २ को २२ सय दुर्लुङ्गखोला देखि वडा नम्वर १ च्याम्ब्राङ्गबेशीको चौतारा छिचोल्ने सुरुङ्ग करिव ९ सय मिटर लम्बाईको हुनेछ ।

च्याम्ब्राङबेशीमा रहेको पानीका श्रोत सुरुङ्ग मार्ग निर्माण हुँदा भविश्यमा काभ्रेपलाञ्चोक र उपत्यकामा समेत बैकल्पिक श्रोतको रुपमा प्रयोग गर्न सकिनेछ ।

गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार पर्यटन प्रर्वद्धन गर्न बेथान्चोक नारायणस्थानका अलावा वडा नम्वर १ देखि ६ वटै वडाका महत्वपूर्ण क्षेत्रको पहिचानसँगै पूर्वाधार निर्माण र पर्यटकको आर्कषणका लागि संरचनाहरु तयार गर्न शुरु गरिएको छ ।

६० वर्ष भन्दा माथी उमेर समुहका अधिकांश जेष्ठ नागरिकको पूर्ण स्वास्थ्य परिक्षणका लागि धुलिखेल अस्पतालसँग समन्वय गरिएको छ ।

चालु वर्षमा ८ वटा सडक निर्माणका लागि सम्झौता गरिसकिएको छ भने निर्माण शुरु भएका सडकहरुको निर्माण कार्य सम्पन्नका लागि पहल भईरहेको छ ।

अध्यक्षसँग घुम्ति शिक्षक कार्यक्रम शुरु गरिएको छ । घुम्ती शिक्षकले अभिभावक, विद्यालय र विद्यार्थीसँग परामर्श गरी शैक्षिक सुधारका लागि फरक सन्देश र समन्वय गर्नेछन् ।

कृषि तथा अन्य ब्यवसायीक प्रयोजनका लागि गाउँपालिकाले वातावरण तयार गरिरहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।

सडक शिल्यान्यास कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाले गुणस्तरीय योजनाहरु तय गरी दिगो विकासलाई केन्द्रित गरेको बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले समयमै सडक निर्माण सम्पन्न गर्ने गरी वातावरण तयार गरिएको बताउनु भयो ।

आफ्नै श्रोतबाट गाउँपालिकाले महत्वपूर्ण गौरवको आयोजना शुरु गरेको प्रमुख प्रशाुकिय अधिकृत भण्डारीले बताउनुभयो ।

कार्यक्रममा निवर्ततमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले भुकम्प पछिको पुर्ननिर्माणमा उक्त सडक कतै मर्मत र कतै कालोपत्रे गरिएको बताउनुभयो ।

विकास निर्माणमा सबैको एकता भए मात्रै सम्भव हुने उहाँले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष कृष्णबहादुर पाख्रिनले वडा नम्वर ४ को पहिलो कालोपत्रे भएकाले यसको गुणस्तरमा सबै तर्फबाट समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्षहरु, निर्वतमान वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशासन प्रमुख विश्वनाथ दाहालले चालु वर्षका अधिकांश आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताउनु भयो ।