तोडफोड र लुटपाटबाट ८ करोड बढीको क्षति, नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती



काठमाडौं । राजधानीको नयाँबसपार्क क्षेत्रमा सोमबार भएको प्रदर्शनले नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती दिएको छ । सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको जस्तै आन्दोलन राजधानीका अन्य दश ठाउँमा भएको भए सुरक्षा अवस्था कस्तो हुने थियो यो आँकलन गर्न सक्ने अवस्था नरहेको विज्ञहरूले टिप्पणी गरेका छन् ।

ट्राफिक प्रहरीले ज्यादती गरेको निहुँमा यातायात मजदुरहरूले शुरू गरेको आन्दोलनमा भएको घुसपैठले उग्ररूप लिएपछि नयाँ बसपार्कस्थित लोत्से मलमा भएको लुटपाट मच्चिएको थियो । उक्त लुटपाटको घटनापछि प्रहरीको दक्षतामाथि प्रश्न उठेको छ ।

उपत्यकामा ट्राफिक प्रहरीले लागू गरेको चर्को जरिवाना र पार्किङमा गरिएको कडाइबारे यातायात मजदुर आन्दोलनरत थिए । यातायात मजदुरका अगुवाहरू १० बुँदे माग र आन्दोलनको ‘स्वरूप’ आफ्ना मजदुरलाई जानकारी गराउने क्रममा उक्त घटना भएको थियो । राजधानीमा भएको उक्त घटनाले नेपाली समाज कता जाँदै छ यसको विश्लेषण हुनुपर्ने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउनुभयो । ‘मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएपछि जनतामा छाएको चरम निरासा परिणाम हो सोमबारको घटना’ –पूर्व डीआईजी मल्लले भन्नुभयो ।

उहाँले भन्नुभयो– ‘नयाँबसपार्क क्षेत्रमा भएको जस्तै घटना राजधानीका १० ठाउँमा एकैपटक भयो भने हाम्रो सुरक्षा फौजले त्यसलाई नियन्त्रणमा लिन सक्छ कि सक्दैन यो विषयमा सरकारले सूक्ष्म ढंगले विश्लेषण गर्नुपर्ने बेला आएको छ ।’

आन्दोलनका नाममा सहभागी भएकाहरूले हातमा नाङ्गो खुकुरी लिएर हिँडेका छन् भने लोत्से मलमा प्रवेश गरेर जसरी लुटपाट मच्चाए त्यसलाई प्रहरीले नियन्त्रण गर्न नसक्नुलाई पनि सरोकारवाला निकायका प्रमुखहरूले सोच्नुपर्ने बेला आएको डीआईजी मल्ल बताउनुभयो ।

अनियन्त्रित रूपमा मलभित्र प्रवेश गर्ने समूहको उद्देश्य तोडफोडभन्दा पनि लुटपाट मच्चाउने रहेको देखिन्छ । प्रहरीले दिनभरको आन्दोलनलाई हेरेर विश्लेषण गर्नुपर्ने थियो त्यो भएको पाइँदैन । घटना असामान्य बन्दै गएपछि प्रहरीको तैनाथीमा नै कमजोरी भएको सुरक्षा विज्ञहरूले बताएका छन् ।

‘बालाजुमा कार्यरत प्रहरी अधिकृतलाई फिर्ता बोलाएर केही हुँदैन । फिल्डमा खटिएका प्रहरीलाई साधनस्रोतले कति सुसज्जित बनाइएको थियो त्यो विषयमा गम्भीर समीक्षा हुनुपर्ने हो त्यो भएको देखिँदैन’ –पूर्वडीआईजी मल्लले भन्नुभयो ।

यातायात मजदुरको नाममा भएको तोडफोड र लुटपाटबाट मलमा मात्रै ८ करोडभन्दा बढी क्षति भएको आँकलन गरिएको छ । उक्त घटनापछि गृह मन्त्रालयले लुटपाटमा संलग्न रहेका व्यक्तिहरूलाई कारबाही गर्न निर्देशन दिएको भए पनि प्रहरीले मंगलबार बेलुकासम्म १८ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आगजनी र लुटपाटमा संलग्न रहेकालाई पक्राउ गरेर आगजनी, लुटपाट र अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको जानकारी दिनुभयो । प्रहरीले अहिले सो क्षेत्रको सीसीटीभी फुटेज संकलन गर्ने काम भइरहेको र सोही आधारमा अपराधमा संलग्न रहेकाहरूलाई पक्राउ गरेर कारबाही अगाडि बढाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

आन्दोलनकारीबीच समन्वयको अभावले पनि सोमबारको घटना भएको निष्कर्ष निकालेको काठमाडांै प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उक्त घटनापछि आन्दोलनकारी मजदुरका नेता र सरकारी पक्षबीच मंगलबार भएको वार्ता सहमतिमा पुगेको छ । मजदुरले राखेको १० बँुदे माग पूरा गर्न उच्चस्तरीय समिति बनाउने निर्णय भएपछि आन्दोलन स्थगित भएको छ । समितिले मजदुरले उठाएका मागका बारेमा सुझावसहितको राय दिएपछि मन्त्रालयले कार्यान्वयनमा ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्