प्रधानमन्त्रीको प्राथमिकतामा सुदूरपश्चिम

आर्थिक विकासमा टेवा पुग्ने दाबी

0
Shares

धनगढी ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्नुभएको छ। सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षण तथा अनुगमन गर्नुभएको हो।

उहाँले सुदूरपश्चिमबाट ठूला तथा गौरवका आयोजना अनुगमन अभियानको थालनी गर्नुभएको हो।

आइतबार मात्रै  मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्टै प्रधानमन्त्री प्रचण्ड अनुगमनका लागि कैलाली आउनुभएको थियो।

उहाँसँगै अनुगमनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी पनि हुनुहुन्थ्यो। अनुगमनका क्रममा प्रचण्डले सुदूरपश्चिम जहिल्यै आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको थियो। अनुगमनका क्रममा संचारकर्मीसंग प्रतिक्रिया दिएँ उहाँले सुदूरपश्चिमका गौरवका आयोजनालाई आफूले विशेष प्राथमिकता राखेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘म पहिला पनि यो मेडिकल कलेज स्थापना गर्ने प्रक्रियामा प्रत्यक्ष रुपमा जोडिएको थिए। बिचमा यसको बेस बन्ने क्रममा पनि म अनुगमनमा आएको थिए। अहिले फेरि म आउँदा चाहिँ खुसीको कुरा छ, अब यहाँ मेडिकल कलेज मात्र होइन हिजो अस्तीको क्याबिनेट बैठकले हामी बसेर सरकारले देशकै पहिलो सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर निर्णय गरेका छौं। अब यसको प्रक्रिया अगाडि बढी सकेको छ,’ उहाँले थप्नुभयो, ‘मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गरे। त्यसपछि पनि सबैभन्दा बढी मैले सुदूरपश्चिमकै अवलोकनहरू गरेको छु। गेटाको यो विश्वविद्यालय सुदूरपश्चिमको मात्र होइन देशकै गौरव हो।’

आफ्नो प्राथमिकता सुदूरपश्चिम जहिल्यै रहेको कुरा जनाउँदै अहिले पनि फेरि सुदूरपश्चिमबाट अनुगमन सुरु भएको उहाँले दाबी गर्नुभयो। सरकारले गेटामा आर्थिक वर्ष २०६६ /०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो। तर प्रारूपबारे २०६५ देखि नै अन्यौलता देखिएको थियो।
गेटामा ७ प्याकेजमा २६ वटा संरचना निर्माण भएका छन्। जहाँ छात्र, छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शव दाह घर, अक्सिजन प्लान्ट र थप ३ सय शय्याको अस्पतालको भौतिक संरचना निर्माण भएका छन्।

साविक डिपिआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो। यद्यपि सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको थियो।  २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। भने आव २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य थियो। तर त्यो हुन सकेन, अहिले यसलाई विश्वविद्यालय बनाउने निर्णय गरिएको छ।

यहाँ भौतिक संरचना निर्माण कार्य २०७३ सालदेखि अघि बढेको थियो। अब यहाँ मेडिकल विश्वविद्यालय बन्ने भएको छ।

यस्तै सोमबार नै उहाँले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्नुचएको थियो। त्यहाँ उहाँले उक्त सुख्खा बन्दरगाह त्रिदेशीय रणनीतिअनुसार निर्माण हुने बताउनुभयो। यो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको दाबी छ। बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत प्रधानमन्त्री दाहालको भनाए छ।

प्रस्तावित उक्त आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भू–उपयोग परिवर्तन हुने भनी प्रस्ताव गरेको छ। सुख्खा बन्दरगाहमा  सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द्र तथा प्रशासनिक भवन निर्माण हुनेछन्।

जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ। उक्त अवसरमा उहाँले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको समेत निरीक्षण गर्नुभएको थियो। यस्तै नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गरेको कार्यक्रम र महेन्द्रनगरको खुलामञ्चमा सुरु भएको १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गरेर प्रधानमन्त्री दाहाल काठमाडौँ फर्किनुभएको छ।